कोरोना, बेमौसमी बाढी र बाघले दुः ख दिएको वर्ष



कात्तिकको पहिलो साता बाँकेमा ठूलो वर्षा भयो । यो बेमौसमी वर्षाले बाँकेका ४० हजार किसानको आँखाबाट आँसु झा¥यो । पाकेर काट्ने बेला भएको (कतै काटेर गरामा फिजाइएको) धान हेर्दाहेर्दै डुबेपछि किसानका आँखा रसाएका थिए ।

केही दिन निरन्तर वर्षा भयो । बचाउन सक्ने जति प्रयास किसानले गरे । बडो मेहनतले रोपेर फलेको धान आफ्नै आँखाअगाडि बग्दा र डुब्दा किसानका सपना चकनाचुर भए । त्यसो त हरेक वर्षको असार र साउनमा बाँकेका राप्ती नदीतटीय क्षेत्रका बासिन्दा डुबानमा पर्ने गर्दछन् । यो वर्ष त्यो बर्खामा किसानले ठूलो क्षति व्यहोर्नुपरेन । बेमौसमी वर्षाले उनीहरुलाई रुवायो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार जिल्लाका आठवटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार १ सय ६५ रुपियाँ बराबरको धानबालीमा क्षति पुग्यो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार १ सय ६५ रुपियाँ राहत माग ग-यो । ढिलो गरी केन्द्रले बाँकेमा १० करोड रुपियाँ राहतका लागि पठायो । जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण ग-यो ।

बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार ३ सय १० किसानको ९७ हजार ४ सय ३४ कठ्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार ४ सय ४८ रुपियाँ क्षतिपूर्ति माग गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा ५ हजार ९ सय २२ किसानले ८९ हजार ५ सय ४१ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख १ हजार २ सय ५७ रुपियाँ माग गरेको थियो । बैजनाथ गाउँपालिकाले ४ हजार १५ किसानले लगाएको १३ हजार ४ सय ६७

कठ्ठामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै १ करोड ६९ लाख ५० हजार ९ सय ४९ रुपियाँ माग गरेको थियो ।जानकी गाउँपालिकाले ४ हजार ३ सय ८६ किसानको ५९ हजार ८ सय ११ कठ्ठाको धान नोक्सान भएको भन्दै ४ करोड ३४ लाख ११ हजार ९ सय २७ रुपियाँ माग गरेको थियो । कोहलपुर नगरपालिकाले २ हजार १ सय ९४ किसानको १४ हजार ४ सय ५२ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १ करोड १५ लाख १ सय ८० रुपियाँ माग गरेको थियो । राप्तीसोनारी गाउँपालिकामा ४ हजार ६ सय ८३ किसानको ६९ हजार ३ सय २७ कठ्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३ सय ४३ रुपियाँ माग गरिएको थियो ।

नरैनापुर गाउँपालिकामा ७ हजार ५ सय ६८ किसानको १ लाख ९ हजार १ सय ३० कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २ सय ७५ रुपियाँ माग गरिएको थियो । डुडुवा गाउँपालिकाले ५ हजार ४ सय ४ किसानको ६४ हजार ४ सय ४९ कठ्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ३ करोड ४१ लाख ५३ हजार २ सय १६ रुपियाँ माग गरिएको थियो ।बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ । गौरवको आयोजना सिक्टा सिँचाइले पूर्णता नपाउँदा अहिलेसम्म यहाँका किसानले आकाशेपानीको घरमा खेती गरिरहेका छन् ।

बाघ आतङ्क

२०७८ सालमा बाँकेमा बाघले आतङ्क मच्चायो । बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा पर्ने राप्तीसोनारी गाउँपालिका र नरैनापुरमा बाघले ६ जना मान्छेको ज्यान लियो । राप्तीसोनारी गाउँपालिका–१ गाभरमा होटलमा काम गर्ने एक जना भारतीयको बाघको आक्रमणबाट मृत्यु भयो । होटलमा काम गर्ने उनी साँझपख सडकतिर घुम्न निस्केको बेलामा बाघले आक्रमण गरेको थियो । पुसको २२ गते राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्टलाई बाघले आक्रमण ग¥यो । घाँस काट्न गएको बेलामा बाघले आक्रमण गर्दा विष्टको मृत्यु भयो । त्यसको दुई दिनपछि पुस २४ गते राप्तीसोनारी गाउँपालिका–६ की चाँदनी थारूलाई बाघले आक्रमण ग-यो । चाँदीलाई पनि घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरेको थियो ।

बाघले धमाधम मान्छेमाथि आक्रमण गर्न थालेपछि निकुञ्ज र प्रकृति संरक्षण कोषले समस्याग्रस्त बाघलाई नियन्त्रण गर्ने प्रयास ग¥यो । चाँदनीलाई आक्रमण गरेको ठाउँमा चितवन र बर्दियाबाट आएको टोलीले दुईवटा पाडा राखेर एक हप्तासम्म ढुकेर बसे । बाघ नजिक नै आएन । बाघलाई नियन्त्रण गर्ने प्रयास असफल भयो । यो बीचमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरियालाई बाघले आक्रमण ग-यो । गाई चराउन गएका लखनको बाघको आक्रमणबाट मृत्यु भयो ।फाल्गुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण ग-यो ।

राप्तीपीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्ज र वन कार्यालय फेरि बाघ समात्नतिर लाग्यो । फाल्गुन ९ गते पाडो राखेर बस्यो । योपटक भने बाघ नियन्त्रणमा आयो । उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा लगियो ।
बाघको संरक्षणका लागि बाँकेमा २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । सन् २०१८ को गणनाअनुसार बाँकेमा २१ वटा बाघ छन् । निकुञ्जभित्र भन्दा सामुदायिक वनमा आएर मान्छेमाथि आक्रमण गरिरहेकाले जिल्लामा बाघको संख्या बढेको आँकलन गरिएको छ । निकुञ्जले बाघ गणना गरिरहेको छ ।

कोरोनाले छोडेन पछ्याउन

२०७८ मा कोरोनाले पनि पीछा छोडेन । पहिलो र दोस्रो लटमा हटस्पट बनेको बाँकेमा तेस्रो लहरको प्रभाव पनि बढी नै देखियो । पश्चिमबाट भारत जाने र फर्किनेको मुख्य नाका नेपालगञ्ज भएकाले यो नाका कोरोनाको जोखिममा परिरह्यो । २०७७ वैशाख १९ गतेदेखि कोरोना देखिन शुरु भएको बाँकेमा २०७८ चैत ९ गते मात्रै कोरोना शून्य भयो । यो बीचमा ३ सय ५२ जनाले ज्यान गुमाए । २१ हजार ३ सय २७ जना संक्रमित भए । १ लाख २८ हजार ४ सय ४७ जनाको परीक्षण गरियो । कोरोनाको उच्च चाप रहेका बेलामा अक्सिजनको अभाव देखिँदा त्यसले अधिकारीहरुलाई राम्रै पाठ सिकायो ।
भेरी अस्पताल, नेपालगञ्जमा लिक्विड अक्सिजन प्लान्ट जडान गरियो । अस्पताल र बनाइएको आइसोलेसन र क्वारेन्टाइन भरिँदा धेरै बिरामी अलपत्र परे । त्यसलाई व्यवस्थापन गर्न नेपालगञ्ज उपमहानगरपालिका–१४, भवानीयापुरमा २९ करोड ३८ लाख २ हजार ८९ रुपियाँमा १ हजार बेडको होल्डिङ सेन्टर बनाइएको छ । कोरोनाजस्ता महामारीमा मात्रै होइन, यो होल्डिङ सेन्टर विपत्तिमा परेका मानिसलाई राख्ने भनिएको छ । जिल्लामा अधिकांशले कोरोनाको खोप लगाइसकेका छन् ।

विमानस्थल चर्चामा

यो वर्ष नेपालगञ्ज विमानस्थल पनि चर्चामा आइरह्यो । नेपालगञ्ज विमानस्थलमा अवतरण हुने र उड्ने बेलामा जहाजसँग जंगली जनावर ठोक्किए । धावनमार्ग नजिकै रहेको झाडीमा रहेका बँदेल, स्याल र खरायो जहाजमा ठोक्किए । बँदेल, स्याल र खरायो जहाजमा ठोक्किँदा ठूलो मानवीय क्षति नभए पनि विमानस्थलको सुरक्षाप्रति प्रश्न उठेको छ ।

सांसदलाई बलात्कारको आरोप

सांसद मोहन बानियालाई बलात्कारको आरोप लाग्यो । नेपालगञ्जको एक होटलमा जुम्लाकी शिक्षिकालाई जबरजस्ती गरेको आरोपमा सांसद बानियालाई पक्राउ गरिएको थियो । अदालतबाट ५ लाख धरौटीमा छुटेका छन् ।

खेलकुदको चर्चा

सधैंझै २०७८ मा पनि नेपालगञ्जमा नेपालगञ्ज म्याराथन र प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता भयो । यी दुई ठूला खेलकुदका प्रतियोगिताले नेपालगञ्जलाई चर्चामा ल्यायो ।बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराधका रेसियो बढी नै देखिन्छ । यो वर्ष पनि हतियारसहित नेपाली र भारतीय पक्राउ परे । लागूऔषधी कारोबारको हब नै भएकाले नेपालगञ्जमा देशका विभिन्न शहरबाट लागूऔषध लिन आएका मानिस पक्राउ परिरहे । पुस ७ गते बाँके प्रशासनको अगुवाइमा पहिलोपटक बाँकेमा नेपाल र भारतका सीमावर्ती १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक बस्यो । नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा प्रमुख र भारतको सीमावर्ती सात जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराध नियन्त्रणमा एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

ठूला प्रोजेक्टका काम हुन सकेन

२०७८ सालमा बाँकेका ठूला प्रोजेक्टले दु्रतगतिमा काम हुन सकेन । आईसीपी, नौबस्ताको क्षेत्रीय कारागार, गनापुरको खुल्ला कारागार, नौबस्ताको औद्योगिक क्षेत्र निर्माणले गति लिन सकेनन् । बाँकेको खजुरामा निर्माण गर्ने निर्णय भएको लुम्बिनी प्रदेशको प्रादेशिक विश्वविद्यालयको निर्माण शुरु हुन सकेन ।

हात्तीपाइलेको रोगविरुद्धको १२औं चरणको अभियान गरियो । जिल्लावासीले औषधि नखाइदिँदा यो अभियान लम्बिँदै गएको छ । यो वर्ष पनि धेरैले औषधि खाइदिएनन् । यो वर्षमा नेवा देय दबु र सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को राष्ट्रिय सम्मेलन नेपालगञ्जमा भए ।
यो वर्ष ठूल्ठूला प्रोजेक्ट सफल भएर जिल्लावासीलाई खुसी तुल्याउनुभन्दा कोरोना, बेमौसमी वर्षा र बाघ आतंकले जनतालाई दुःख दियो ।

प्रतिक्रिया दिनुहोस्