ब्युँझदै बित्यो अठहत्तर साल



कोराना महामारीका कारण २०७७ मा रोकिएका विश्वकै केही प्रतिष्ठित खेल प्रतियोगिताहरू २०७८ मा सम्पन्न भएका कारण यस वर्षलाई खेलकुदप्रेमीले ब्युँझदै गरेको वर्षका रूपमा लिएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा को कसरी ब्युँझ्यो, सरसर्ती हेरौं ः

टोकियो ओलम्पिकमा नेपाल

विश्व खेलकुदको कुम्भमेलाका नामले परिचित ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद यस वर्ष जापानको टोकियोमा सम्पन्न भयो । ओलम्पिक जापानको टोकियो शहरमा २३ जुलाइदेखि ८ अगस्टसम्म भएको थियो । प्रत्येक चार वर्षको अन्तरालमा हुँदै आएको ओलम्पिक गत वर्ष कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो । कोरोनाका कारण एक वर्षपछि सारिँदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै एक भव्य कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक २०२०’ को सम्पन्न भयो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्र र शरणार्थी टोलीका गरी कुल ११ हजार ६ सय ५६ एथ्लिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्स्मा प्रतिस्पर्धा गरेका थिए जसमा नेपालसहित १ सय १२ राष्ट्र भने पदकविहीन बने ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदाझैं टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित बन्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो ।

ओलम्पिकमा ३ सय ४० स्वर्ण ३ सय ३८ रजत र ४ सय दुई कांस्यगरी कुल १ हजार ८० पदकको छिनोफानो भएको थियो । टोकियो ओलम्पिकमा २ सय ५ राष्ट्र र शरणार्थी टोलीमध्ये ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भए ।

अमेरिका यसपटक पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यगरी कुल १ सय १३ पदक जित्न सफल भयो । ओलम्पिकको अन्तिम दिन स्वर्ण जित्न नसकेपछि चीन दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यगरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्यगरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले एक स्वर्णसहित कुल सात पदक जित्यो । अब ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ ।

काठमाडौं रेजर्स च्याम्पियन

काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बन्यो । उपाधिसँगै काठमाडौंले ३५ लाख रूपैयाँसहित सिल्ड हात पारेको थियो । दोस्रो भएको धनगढीले १५ लाख रुपियाँ प्राप्त ग¥यो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा गत ११ वैशाखबाट शुरू भएको एनएसएलमा सातवटा शहरका टोलीको सहभागिता रहेको थियो ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहेको थियो । गत वैशाखको दोस्रो हप्तादेखि लकडाउन भएपश्चात् वर्ष २०७८ को शुरूआत पनि कोरोनाका कारण प्रभावित बन्यो । नेपालमा पहिलोपटक शुरू भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग यसबाट प्रभावित बनेको थियो ।

मच्छिन्द्रले ग-यो उपाधि रक्षा

यस वर्ष मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ । लिगको ४४औं संस्करणमा मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रोपटक च्याम्पियन हुँदा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) रेलिगेसनमा परे । लिग च्याम्पियन बनिसकेको मच्छिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलसम्म अपराजित रहन सफल भयो । च्याम्पियन र अपराजित रहने क्रममा मच्छिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । मच्छिन्द्रले लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबसँग गोलरहित बराबरी खेल्दा ११ खेलमा जित निकालेको थियो । उपाधिसँगै मच्छिन्द्रले ७५ लाख र सिल्ड जित्यो । दोस्रो भएको आर्मीले ५० लाख तथा तेस्रो भएको एनआरटीले २५ लाख रुपियाँ प्राप्त गरेका थिए ।
१४ टोलीको सहभागितामा मंसिर ३ गते शुरू भएको लिग पहिलोपटक दशरथ रंगशालाको फ्लड लाइटमा खेलाइएको थियो । लगातार दोस्रोपटक लिग जित्ने मच्छिन्द्र लिग इतिहासको सातौं क्लब हो । यसपटक दोस्रो स्थानका टोलीलाई मच्छिन्द्रले अंकमा निकै पछाडि पारेको थियो ।

साफमा नेपाल पहिलोपटक उपविजेता

वर्ष २०७८ मा आयोजना भएको प्रमुख प्रतियोगितामध्ये दक्षिण एसियाको फिफा विश्वकपसरह मानिने साउथ एसियन फुटबल फेडरेसन (साफ) च्याम्पियनसिप पनि हो । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक उपविजेता बन्यो । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो । नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौंपटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

अनन्त आईएसएलमा खेल्ने पहिलो नेपाली

यस वर्ष राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा आबद्ध भए । अनन्त आइएसएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडीसमेत बने ।

नेपाल त्रिकोणात्मक टि–२० च्याम्पियन

यस वर्ष नेपाल त्रिकोणात्मक टि–२० आई सिरिजको च्याम्पियन बन्यो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि–२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि–२० आई सिरिजको च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजय लक्ष्य पछ्याएको पपुवान्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भएको थियो ।

विश्वकप छनोटमा असफल प्रयास

नेपाल यसपटक आईसीसी टी–२० विश्वकपमा छनोट हुन सकेन । गत फागुनमा आइसीसी टि–२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपाली टोलीको अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्ने सपना समाप्त भएको हो । युएईले नेपाललाई ६८ रनले हराउँदै आगामी अक्टोबर÷नोभेम्बरमा अस्ट्रेलियामा हुने टि–२० विश्वकपमा आफ्नो स्थान पक्का ग¥यो । युएई दोस्रोपटक टि–२० विश्वकपमा पुगेको हो ।

इटाली युरो कपको च्याम्पियन

फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ युरोकप । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको युरो कप फुटबल प्रतियोगिता यस वर्ष सम्पन्न भयो । युरो कप सुरूआत भएको ६० वर्षको अवसर पारेर पहिलोपटक युरोपका १३ देश (बेल्जियम, डेनमार्क, हंगेरी, आयरल्यान्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इंगल्यान्ड) मा संयुक्त रूपमा आयोजना गर्ने तय भएको थियो । तर, एक वर्ष सरेपछि संयुक्त रूपमा आयोजना गर्ने सूचीमा रहेका देशमध्ये आयरल्यान्ड र बेल्जियमले आयोजक सूचीबाट नाम फिर्ता लिएका थिए ।

एक वर्षपछि धकेलिएसँगै नेपाली क्यालेन्डर अनुसार २०७८ को असार–श्रावणमा भएको युरोपकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि इटालीले दोस्रोपटक जित्न सफल भयो । यसअघि सन् १९६८ मा पहिलोपटक युरो च्याम्पियन बनेको इटालीले यसपटक फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको हो ।

अर्जेन्टिनाबाट मेसीको पहिलो उपाधि

यसै वर्ष फुटबलका महान् हस्ती लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भए । सन् २००५ देखि नै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा रहेका उनलाई पहिलो प्रतिष्ठित उपाधि उचाल्न १६ वर्ष कुर्नुप¥यो । अर्जेन्टिनाको कप्तानी गरेका मेसीले यस वर्षको असार–श्रावणमा सम्पन्न विश्वकै पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि उचालेका हुन् । प्रतियोगिताको फाइनलमा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले उक्त उपाधि जितेको हो । अर्जेन्टिनाले यसपटक २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक सावित बनेको थियो ।

ल्याटिन अमेरिकाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको मिति गत वर्ष नै तोकिएको थियो । तर, कोरोनाका कारण एक वर्ष ढिलो भयो । यसपटक कन्मेबोलले प्रत्येक टिममा २८ जना खेलाडी राख्न पाउने नयाँ व्यवस्थासमेत लागु ग¥यो । कोरोनाको असरलाई ध्यान दिँदै महासंघले सहभागी देशका खेलाडीहरूको फिटनेसमा समस्या नपरोस् भनेर २८ जना खेलाडी राख्ने सुविधा दिएको थियो । यसअघि कोपामा एक देशले जम्मा २३ जना मात्रै खेलाडी राख्न पाउने व्यवस्था थियो ।

अस्ट्रेलिया च्याम्पियन

यस वर्ष आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्दै अस्ट्रेलिया पहिलोपटक टि–ट्वेन्टी विश्वकप च्याम्पियन बन्यो । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर पुरस्कार पनि प्राप्त ग¥यो । उपविजेता न्युजिल्यान्डले भने ८ लाख डलर पायो । सेमिफाइनलमा पराजित हुने दुई टोली इंग्ल्यान्ड र पाकिस्तानले पनि चार–चार लाख डलर प्राप्त गरेका थिए ।

सेनेगललाई अफ्रिकी कप

सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बन्यो । सर्वाधिक सफल इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको हो । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भयो । क्यामरुनमा भएको उक्त अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो ।

मेसीलाई सातौं मान

अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी ओरको उपाधि जिते । यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पूर्व फरवार्ड मेसीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होलाई पछि पारेका थिए । यसअघि मेसीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा अवार्ड जितेका छन् ।

फ्रान्स नेसन्स लिग च्याम्पियन

यो वर्ष फ्रान्स नेसन्स लिगको च्याम्पियन बन्यो । फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनलाई २–१ ले हराउँदै फ्रान्स नेसन्स लिग च्याम्पियन बनेको हो ।

रोनाल्डो १२ वर्षपछि युनाइटेडमा

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । ३६ वर्षीय रोनाल्डोलाई २ करोड पाउन्डमा दुई वर्षको लागि म्यानचेस्टर युनाइटेडले अनुबन्धित गरेको थियो । रोनाल्डो सन् २००९ पछि ओल्ड ट्राफर्ड फर्किएका हुन् ।

चेल्सी सुपर कप च्याम्पियन

च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले यस वर्ष युइएफए सुपर कपको उपाधि जित्यो । युरोपा लिगा विजेता स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

मेसी पीएसजीमा

यस वर्ष अर्जेन्टिनी फरवार्ड लियोनल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भए । फ्रि एजेन्ट मेसी दुई वर्षका लागि पीएसजीमा आबद्ध भएका हुन् । झन्डै दुई दशक बार्सिलोनामा बिताएका उनी यो वर्ष पीएसजी आएका हुन् ।

अमेरिकालाई गोल्ड कप उपाधि

यस वर्ष अमेरिकाले कन्काकाफ गोल्ड कपको उपाधि जित्यो । चिर परिचित प्रतिद्वन्द्वी मेक्सिकोलाई फाइनलमा १–० ले पराजित गर्दै अमेरिकाले कन्काकाफ गोल्ड कपको उपाधि जितेको हो । योसमेत अमेरिकाले सातौंपटक गोल्ड कप उपाधि जितेको छ ।

अस्ट्रेलियालाई महिला विश्वकपको उपाधि

यस वर्ष अस्ट्रेलियाले एक दिवसीय महिला विश्वकप २०२२ को उपाधि जित्यो । अस्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अस्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसीय महिला विश्वकपको उपाधि जितेको हो । ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो ।

खेलहस्तीलाई बाईबाई

असोज तेस्रो साता पूर्व फिफा रेफ्री लव खत्रीको निधन भयो । घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षे खत्री बिहान मर्निङवाकबाट फर्केपछि बाथरुम छिरेको र त्यहीँ लडेर अचेत भएका थिए ।
गत असोजको चौथो साता सहारा क्लव युकेका महासचिव तथा सामाजिक व्यक्तित्व धनु पुरन थकालीको निधन भयो । केही महिनादेखि अस्वस्थ थकालीको ५१ वर्षको उमेरमा बेलायतस्थित अल्डरसटको आफ्नै निवासमा निधन भएको हो ।गत जेठमा लामो समयदेखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा पोखरामा निधन भयो । उनले सहारा क्लबको फुटबल टोली र एकेडेमीलाई पनि प्रशिक्षण दिएका थिए ।

गत साउनको अन्तिम साता जर्मनीका प्रख्यात फरवार्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा अल्जाइमर रोगका कारण निधन भयो । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखमा १५ वर्षसम्म आवद्ध हुँदा मुलरले ४ सय २७ बुन्डेसलिगा खेलमा ३ सय ६५ गोल गरेका थिए । उनले ७४ युरोपियन खेलमा ६६ गोलसमेत गरेका थिए । एक सिजनमा ४० गोल गर्ने उनको कीर्तिमानलाई गत सिजन बायर्नकै रोबर्ट लेवान्डोस्कीले ४१ गोल गर्दै ४७ वर्षपछि तोडेका थिए ।

गत फागुनको तेस्रो साता अस्ट्रेलिया महान् स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भयो । विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई म्याच खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्