‘फेवा नव वर्ष महोत्सव’ बुधवारबाट



कास्की । 

निःशुल्क प्रवेश सहित खुल्ला सडकमा बुधवारबाट पोखराको लेक साइडमा आयोजना हुने १७ औँ फेवा नव वर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटेल सङ्घ पोखरा नेपालले मङ्गलवार एक पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा सहभागी भई नयाँ वर्षलाई स्वागत गर्न आव्हान गरेको छ । दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक बिचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव सञ्चालन हुने छ । आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवलाई पुनः निरन्तरता दिन लागिएको हो ।

नेपालका मुख्य सहरहरूमा अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्राप्त कलाकारहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिबहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुति रहने छ ।

यसै गरी लाइभ ब्यान्ड तर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ । नयाँ वर्षको दिन वैशाख १ गते प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षत्री, माया गुरुङ, लक्ष्मी नेपाली र तुसा क्षत्रीले मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ । यस दिन पनि लाइभ ब्यान्डको प्रस्तुति रहने छ । महोत्सव उद्घाटन सँगै दोहोरी र अन्य कार्यक्रम सञ्चालन हुने र साँझपछि राति १२ बजेसम्म पप कन्सर्टका कार्यक्रम समेट्ने योजना  संघको छ । दोश्रो तथा अन्तिम दिन पनि त्यसै गरी कार्यक्रम अगाडि बढ्ने छन् ।

महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्यक्रमहरू सञ्चालन गरिने संघले जनाएको छ । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । अन्नपूर्ण केवलकार प्रालि र गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक रहेका छन् भने नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिनुभयो । होटेलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ वर्ष लक्षित होटेलको बुकिङ ५० प्रतिशत पुगेको पनि उहाँले बताउनु भयो । होटेलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यस अघि नै गरिसकेको छ । महोत्सवका अवसरमा रात्रीकालिन वस तथा ट्याक्सी सेवा उपलब्ध हुने जानकारी पनि संघले दिएको छ । सो अवसरमा सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले पर्यटनमा विस्तारै सुधार हुँदै गएको र गण्डकी प्रदेशका पोखरा बाहेक अन्य क्षेत्रमा समेत पर्यटकहरू पुग्ने क्रम देखिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्