फेरि उ गाउँ पस्यो !



फेरि उ गाउँ पस्यो,
सोझा बा आमा सँग बस्यो ।
कुरामा चिल्लो घस्यो,
हुँदा हुँदा अन्ततः गाउँले फस्यो !

पाँच वर्ष अघि देखिएको त्यो अनुहार,
दुई हात जोड्दै माग्दै गर्‍या त्यो गुहार ।
पुनः दोहोरिँदा गाउँलेलाई याद आयो,
अब प्रश्न – यहाँ कसले के पायो ?

हिजो चुलो चौकाहरूमा,
पर्व मेला अवसर मौकाहरूमा ।
जन्तका जन्तीहरूमा, मर्दाका मलामीहरूमा,
असिना झर्ने, पसिना चुहिने खेतबारीहरुमा,
एक्लै रुमल्लिएका थिए ती गाउँले अनुहार ।
पिरोलिएका मनहरू, बन्धक थिए तमाम रहर।

तर

फेरि उ गाउँ पस्यो !
सोझा बा आमा सँग बस्यो ।
चुलो चौकोमा नयाँ अनुहार देखिन थाल्या छ,
आमा समूह बैठकहरुमा उसको नाम लेखिन थाल्या छ ।
फेरि बाँड्दै छ पोकाहरू आश्वासनका,
लुट्न लुटेर अझै छोड्या छैन कुरा सुशासनका ।
दिनप्रतिदिन कुरामा चिल्लो घस्यो,
हुँदा हुँदा अन्ततः गाउँले फस्यो !

उ जितेर गयो या हारेर गयो,
फेरि प…छी फर्किने गरी माया मारेर गयो ।
पुनः एक पटक समीक्षाको समय आयो,
आखिर गाउँले के पायो ?

कतै रोड कटायो त मन फटायो,
आधुनिकता का नाममा संस्कृति हटायो ।
प्रदेश केन्द्र तिर कमिसनको मारामार,
कृत्य योजना तिर गाउँकै सिंहदरबार !
यहाँ जनता मात्रै छन् हाहाकार,
अझै के को गर्नु छ र ? जयजयकार !

लेखक बझाङको छबिसपाथिभेरा गाउँपालिकामा लेखाशाखा प्रमुखको रूपमा कार्यरत्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्