कालो गाउँले चिनिन्छ गत्लाङ



रसुवा ।

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको गत्लाङ गाउँ कालो गाउँले परिचित छ । समुन्द्री सतहदेखि २३ सय मिटरमा रहेको यस गाउँ एक सुन्दर पर्यटकीय स्थल हो ।

परम्परागतरूपमा काठले मात्र बनाइएको छाना र एउटै पर्खालबाट बनेको यस गाउँ विश्वसामु परिचित गराउन आवश्यक छ । विशुद्ध तामाङ जातिको बसोबास रहेको यहाँ करिव ५ सय घरधुरी रहेको छ । तर, भूकम्पपछिको पुनर्निर्माणले ऐतिहासिक पहिचान संकटमा परेको छ । अहिले रङ्गिनविरङ्गी भएको गत्लाङ गाउँमा नयाँ संरचना बनेपछि थुप्रै होमस्टे आफ्नै मौलिक संस्कृति र अर्गानिक खेतीपातीले गर्दा मानिस पुग्ने गर्छन् ।

विशेष गरी यहाँको आलु, सिमी, मुसुरोको दाल प्रख्यात छ ।प्राकृतिकरूपमा मनमोहक यस ठाउँ पुग्नेले स्वर्गीय आनन्द लिन सक्छन् । राजधानी काठमाडौंबाट एकै दिनमा कालो गाउँ पुग्न सकिन्छ । यहाँ धेरै मानिसले पर्यटनका लागि तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङ, पार्वती कुण्ड, थुमन, नागथली तातोपानी लगाएका ठाउँको समेत भ्रमण गर्न सक्छन् ।

स्थानीयले भूकम्पले घरहरूको पहिचान मेटाए पनि आफ्नो मौलिकता हराउन दिएका छैनन् ।वन कार्यालयअन्तर्गत पर्ने गत्लाङमा आन्तरिक पर्यटकका साथै इजरायल, फ्रान्स, क्यानडा, जापान, इटाली, अमेरिकी, थाइल्यान्ड, बेलायत, कोरिया, रसियालगायतका ठाउँबाट घुम्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्