वागमतीमा ५ दलीय गठबन्धन सहमतिनजिक



हेटौंडा ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वागमती प्रदेशमा सत्तासाझेदार दलको ५ दलीय गठबन्धन सहमतिनजिक पुगेको छ ।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“को सभाध्यक्षतामा बसेको गठबन्धनको बैठकमा वागमती प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्र सचिव राजु नेपालले बताउनुभयो ।

आइतबार र सोमबार काठमाडौंमा बसेको गठबन्धनको बैठकमा वागमती प्रदेश नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमुखहरुको उपस्थिति थियो ।

यसअघि वागमती प्रदेशका ५ दलीय गठबन्धनले आ–आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहत निकायलाई निर्देशन दिइसकेका छन् भने वागमती प्रदेश गठबन्धनले पनि तत्काल साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्