अमेरिकी पर्यटक बढे



काठमाडौं । 

कोभिडका कारण ठप्प जस्तै बनेको नेपालको पर्यटन व्यवसाय विस्तारै उकालो लाग्ने संकेतहरु देखापरेका छन् । कोभिडपछिकै विदेशी पर्यटक आउनेको संख्या शनिबार उच्च भएपछि नेपालको पर्यटन व्यवसाय विस्तारै फस्टाउने संकेत देखापरेको हो ।

शनिबार विभिन्न देशबाट २ हजार ५ सय ९३ विदेशी पर्यटक नेपाल आएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विदेशी पर्यटक नेपाल आएको यो तथ्यांक सन् २०१९ पछिकै धेरै भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोभिडले सुस्ताएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको छ ।’

कोभिड अगाडि चिनियाँ र अमेरिकी पर्यटक धेरै आउने तथ्यांक भए पनि पछिल्लो समय चिनियाँ पर्यटकको तथ्यांकलाई अमेरिकाले जितेको छ । कोभिडका कारण बन्द भएको नेपाल चीनको सीधा उडान बन्द भएपछि हालसम्म पनि नियमित हुन सकेको छैन । चीन र नेपालबीच सीधा उडान हुन नसक्दा चीनबाट पर्यटक नेपाल आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्