पोखरामा नयाँ वर्षमा महोत्सव आयोजना हुने



पोखरा ।

पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण स्थगित भएको थियो ।

१७ औँ संस्करणको महोत्सव चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा हुने आयोजकले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न २१ वटा उपसमितिहरू गठन भएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर उत्सव मनाउन लागिएको बताए ।

पोखराका होटेलमा अहिले २० प्रतिशत हाराहारी पर्यटक छन् । आन्तरिक र भारतीय पर्यटकको आगमन बिस्तारै बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । महोत्सवका अवसरमा आफ्ना सदस्य होटेलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गरिएको छ । रेस्टुरेन्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महँगीका बाबजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको सुवेदीले जानकारी दिए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रस्तुति र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, लाइभ कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्