लैंगिक विभेद अन्त्य गर्न सरकार लागि परेको छ : मन्त्री झाँक्री



न्युज अफ नेपाल, काठमाडौं ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । समाजमा रहेको लैंगिङ विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् ।

सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (ईस्क्याप)द्वारा काठमाडौंमा आयोजित ई(कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन् । यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ ।’

कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले इ-कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।

ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको बताए । उनले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्