ओमशंकरको यथार्थ लोकार्पित



काठमाडौं, (नेस) ।

यथार्थवाद खोज्ने अग्रज साहित्यकार ओमशंकर श्रेष्ठको कथा संग्रह यथार्थ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलाल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिमप्रसाद श्रेष्ठ, डिकुरा पब्लिकेसन्सका अध्यक्ष तथा नेपाल सचेत पार्टीका पनि अध्यक्ष पुण्य प्रसाईं, एस च्यानलका म्यानेजिङ डाइरेक्टर अनुपसिंह सुवाल र लेखक ओमशंकर श्रेष्ठले संयुक्त रूपमा यथार्थको लोकार्पण गर्नुभएको हो ।

प्रमुख अतिथि संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले समय अभावका कारण भर्चुअल रूपमा विमोचन गर्दै सम्बोधन गर्नुभएको थियो । त्यसै गरी अर्का राजनीतिज्ञ हिसिला यमीले पनि भर्चुअल रूपमै सम्बोधन गर्नुभएको थियो । उहाँले आफ्नो सम्बोधनका क्रममा महिलाको समान अधिकार छ कि छैन यो यथार्थ हो होइन भनी टिप्पणी पनि गर्नुभएको थियो ।

कथा संग्रहका प्रकाशक डिकुरा पब्लिकेसन्सका अध्यक्ष पुण्य प्रसाईंले कथा संग्रह यथार्थले यथार्थतालाई आगोसरी बोलेको स्पष्ट पार्दै मुलुकमा राजनीतिक अस्थिरता तथा नेताहरूको बेइमानीको कारण श्रीलंकामा भन्दा अझ बढी ठूलो आर्थिक संकट आउन लागेको भविष्यवाणी गर्नुभएको थियो ।

भाषा अगुवा तथा सञ्चारकर्मी अनुपसिंह सुवालले यथार्थवादी कथाकार ओमशंकर श्रेष्ठको यथार्थ कथा संग्रह सामाजिक यथार्थवादी कथा भएको बताउनुभयो । श्रेष्ठको यथार्थमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार तथा पत्रकार स्वागत नेपालले परजीवी समालोचकको जगजगी भएका बेला आएको कृति यथार्थले पात्रमाथि अहस्तक्षेपको सिद्धान्त प्रतिपादन गरेको बताउनुभयो । उहाँले परिवर्तनका लागि पुस्तक उपयोगी भएको र कलाको सन्तुलित प्रयोग भएको उल्लेख गर्नुभयो ।

त्यसै गरी अर्का समीक्षक तथा पत्रकार अभय श्रेष्ठले (चङ्की श्रेष्ठ) गुरूप्रसाद मैनालीको नासो कथासँग श्रेष्ठको कथा संग्रह यथार्थलाई तुलना गर्नुभयो । उहाँले लेखन तथा शैलीमा स्तरीयता भए पनि भाषागत त्रुटि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कथाकार श्रेष्ठले आफूसँग प्रकाशोन्मुख दुई उपन्यास रहेका र साहित्य सिर्जनामा व्यावसायिक रूपमा अनवरत रूपमा लाग्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेललगायतका शैक्षिक तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्