लन्डन ।
रियल मेड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ ।फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा शीर्षस्थानमा रहेको रियल मेड्रिडले स्पेनिस ला लिगामा जित निकालेको हो । रियलले सेल्टा डि भिगोलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले हराएको हो ।
शनिबार राति एवान्का वालाइडोस भिगोमा भएको खेलको १९औँ मिनेटमा बेन्जेमाको पेनाल्टी गोलबाट रियलले शुरुवाती अग्रता लिएको थियो । नोलिटोले इडर मिलिसाओमाथि फाउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् । खेलको ३९औं मिनेटमा थियागो गलहार्डोले गोल गरे पनि भीएआरबाट मान्यता नपाउँदा घरेलु टोली सेल्टा बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा इगो आसपास अफसाइड देखिएको थियो । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जाभी गलानको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले पनि खेलमा अग्रता लिने अवसर खेर फाल्यो । रोड्रिगोमाथि मुरिल्लोले फाउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा बेन्जेमाको पेनाल्टीलाई डिटुरोले बचाए । त्यस्तै, ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे । पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फाउल गरेपछि रेफ्रीले रियललाइै एकै खेलमा तेस्रो पेनाल्टी प्रदान गरेको थियो । यो जितसँगै रियलले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ । पराजित सेल्टाको ३६ अंक रहेको छ ।











प्रतिक्रिया