नेपाल वायु सेवा निगम : कमजोर व्यवस्थापन



  • रमेशकेशरी वैद्य

निपाल वायु सेवा निगम, राम्रो संस्थान तर कहिल्यै उँभो नलाग्ने । सरकारी हस्तक्षप र कमजोर व्यवस्थापनले गर्दा यो संस्थान दिनपर दिन उँधो लागिरहेको अवस्था छ । पहिला यो संस्थान यस्तो अवस्थामा पुगेको थिएन । त्यति बेलाको कुरा गर्दा यहाँ यति धेरै सरकारी हस्तक्षप हुँदैनथ्यो । कर्मचारी व्यवस्थापन राम्रो थियो । रकमको समस्या कहिल्यै हुँदैनथ्यो । त्यसैले यो संस्थान एक नम्बरको तहमा गनिन्थ्यो । अझै ध्यान दिने हो भने यो संस्थानमा अझै केही बिग्रेको छैन । स्वच्छ मन र इमानदार भएर अघि बढ्ने हो भने यो संस्थानको हालत फेरि राम्रो हुन सक्छ । सिर्फ माथिको हस्तक्षप हुनुभएन, यहाँको व्यवस्थापनले सचिव, मन्त्री, प्रधानमन्त्रीहरुलाई धेरै खुशी गरिराख्नुभएन, चाहे जुनसुकै सरकार होस् ।

एक समय थियो, एक अर्ब रुपियाँ यो संस्थानको लागि ओभर ड्राफ्ट हुँदा नागरिक तथा कर्मचारीहरु जिब्रो टोक्ने गर्दथे । अहिले सुनिनमा आउँछ कि झन्डै ३०–४० अर्बको हाराहारीमा ओभर ड्राफ्ट हुँदा पनि संस्थान चली नै राखेको छ तर सरकारहरु भने हेरेको हेर्यै छन् । यो एउटा अचम्म लाग्दो विषय हो, तैपनि अझै आत्तिइहाल्नुपर्ने कुरा छैन । कारण, एयरलाइन्स व्यापार एउटा यस्तो व्यापार हो कि जुन एकपल्ट फेरि सबै पक्ष परिवर्तन भएर राम्रो हुने र कडा हुने हो भने यो संस्थान नराम्रो होला भन्न सकिन्न । अहिले नागरिक उड्डयन मन्त्रीको सोच पनि यस संस्थानप्रति राम्रो छ । नेपाल वायु सेवा निगमप्रति राम्रो सोच राख्नेहरुले उहाँलाई राम्रा–राम्रा सुझावहरु दिनुपर्दछ । यो भन्नु हुँदैन कि आ… हामीलाई के मतलब ? एक हिसाबले भन्ने हो भने नागरिकको करको रकम यहाँ पनि फसेको छ । त्यसकारण यसलाई बचाउनु हरेक नेपालीको कर्तव्य हुन आउँछ ।

कसरी बचाउने त ?

अहिले यो संस्थानको हालत अलि जीर्ण पनि भइसकेको छ । त्यसकारण यसलाई बचाउनका लागि राम्रो विदेशी पार्टीलाई केही वर्षका लागि यस संस्थानको व्यवस्थापन करारमा दिँदा हुन्छ । जसले गर्दा यसको अवस्था पनि नेपाल बैंकको जस्तो राम्रो भएर आउन सक्छ । नेपाल बैंकको अवस्था पनि पहिला खराब थियो तर पछि यसलाई विदेशीको हातमा व्यवस्थापन करारमा दिएर नै अहिले यो बैंकको हालत राम्रो भएको छ । त्यसकारण नेपाल वायु सेवा निगमको व्यवस्थापन पनि करारमा दिन किन नसोच्ने ? यदि यो कुरा सरकारबाट असम्भव देखिए आपूmहरु कडा भएर यो संस्थालाई बचाउनुपर्दछ, अन्यथा लोकतान्त्रिक मुलुकमा लाज लाग्दो विषय हुन आउँछ ।

अहिले नेपाल एयरलाइन्सको अवस्थालाई हेर्दा यो संस्थानले शेयर निष्कासन गर्नु जरुरी छ । यसो गर्नाले आर्थिक हिसाबमा यो संस्थान बलियो हुन्छ र केही हाइसन्चो हुन्छ । साथै एयरलाइन्समा मनपरि गर्ने संस्कार कम हुँदै जान्छ । यसै सन्दर्भमा कुरा गर्दा, हाम्रो जस्तो सानो मुलुकमा धेरै फास्ट ट्रयाक, सडक, केबलकार, पुल, बाँध आदि बन्नु राम्रो हो तर धेरै अन्तर्राष्ट्रिय एयरपोर्टहरुको जरुरत छैन । बरु यही रकम अरु क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ । अहिलेको परिप्रेक्ष्यमा जहाजहरु भए पनि आन्तरिक फ्लाइटहरु सुक्दै गएको देखिन्छ । यो दुःख लाग्दो कुरा हो । त्यसकारण राज्यले पहिलाको जस्तै निरन्तर फ्लाइटहरु सञ्चालन गर्नको लागि निगमलाई निर्देशन दिनु आवश्यक छ । अहिले निगमको कुरा गर्दा एउटा महत्वपूर्ण कुरा के छ भने, निगमले छिटोभन्दा छिटो अस्ट्रेलियामा उडान राख्नको लागि प्रयास गर्नु जरुरी छ । यो उडान राख्नाले नेपाल वायु सेवा निगमको घाउलाई मलहमको काम गर्ने गर्छ । त्यो किन हुन्छ भनिराख्नुपर्ने विषय होइन । आजभोलि यो अस्ट्रेलियामा धेरै नेपालीहरु भरिएका छन् ।

केही थप उडानको कुरा गर्ने हो भने, भारतमा चेन्नाई र बागडोग्रा फ्लाइट राख्नको लागि प्रयास गर्ने हो । यी दुवै ठाउँबाट राम्रो आम्दानी हुन सक्छ । चेन्नाईमा फ्लाइट राख्नुको मुख्य कारण त्यहाँ औषधि उपचार र धार्मिक हिसाबले बढी नै यात्रुको आतेजाते हुन्छ । त्यस्तै बागडोग्रा साइटमा धेरै नेपाली भएकाले त्यहाँ फ्लाइट राख्नु राम्रो हुन्छ । यता त्रिभुवन विमानस्थलबाट बाहिरिने यात्रुका लागि सीमित ट्याक्सी भएकाले यात्रुले धेरै समस्या झेल्नुपरेको देखिन्छ । त्यसैले सरकारी तबरबाटै विमानस्थलदेखि ठमेललगायत शहरका मुख्य स्थानहरुसम्मका लागि सवारीसाधनको निमित सेवा उपलब्ध गराउनुपर्ने देखिन्छ । समग्रमा भन्नुपर्दा नेपाल एयरलाइन्सलाई बचाउन सबै पक्षको सहयोगको साथै व्यवस्थापन पक्षका कमजोरीहरुमा सुधार गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्