निसीखोला आलु र मकैको पकेट क्षेत्र



बागलुङ (नेस) ।

बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफुल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उहाँको भनाइ थियो ।

शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताउनुभयो । वडा नं ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ । यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् ।

निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भए पनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए । ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौंका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन ।

गाउँपालिकाले कृषिका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिनुभयो । यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्