हेटौंडामा ‘सत्यमोहन’ को परिचर्चा



हेटौंडा, (नेस)।

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जीवनमा आधारित रहेर लेखिएको ‘सत्यमोहन’ नामक पुस्तकको हेटौंडामा परिचर्चा गरिएको छ । पुस्तकलेखक पत्रकार गिरीश गिरीले पुस्तक प्रकाशनबारे भनाइ प्रस्तुत गर्नुभएको थियो । सर्जकसञ्जाल मकवानपुरको आयोजनामा भएको पुस्तक परिचर्चा कार्यक्रमको सहजीकरण सर्जकसञ्जाल मकवानपुरका संयोजक साहित्यकार निमेष निखिलले गर्नुभएको थियो । कार्यक्रममा कथाकार, नाटककार कुमार नगरकोटी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम र साहित्यसंगम मकवानपुर अध्यक्ष अनिता न्यौपानेलगायतले भनाइ राख्नुभएको थियो ।

बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको ‘सत्यमोहन’ पुस्तक गत महिना बजारमा आएको हो । संस्कृतिविद् जोशी जीवित रहँदा पुस्तक प्रकाशन गरेर जिउँदो इतिहासको सम्मान गरिएकोमा साहित्यकारले लेखकलाई धन्यवाद दिएका थिए ।

पुस्तकभित्र सत्यमोहन जोशीका विभिन्न कालखण्डलाई समेटिएर तयार पारिएको लेखक गिरीले बताउनुभयो । उक्त पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह/अवरोह चियाउने आँखीझ्याल रहेको लेखक गिरीले बताउनुभयो ।

लेखक गिरीले जोशीका जीवन भोगाइ शृंखलाबद्ध लेख्न शुरू गरेर अनलाइन पोर्टलमा प्रकाशन गर्दै गएको र गत वर्षमात्र प्रकाशन संस्था बुकहिलमार्फत् पुस्तकको योजना बनेको बताउनुभयो । ‘सत्यमोहनसँग अनौपचारिक कुरा हुन थालेपछि उहाँका योगदान कति फराकिलो रहेछ । हामीले त काठमाडौंका कला–संस्कृतिमा मात्र सीमित गरेका रहेछौं भन्ने लाग्यो ।

‘त्यसपछि कुराकानी रेकर्ड गरेर लेख्ने प्रस्ताव गर्दा उहाँ सहर्ष तयार हुनुभयो,’ उहाँले समाज र साहित्य–संस्कृतिमा काम गर्ने जिउँदो इतिहासको आत्मकथा प्रकाशन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।

सत्यमोहन जोशी (१९७७ वैशाख ३०) नेपालका संस्कृतिविद् हुनुहुन्छ । उहाँले २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाउनुभएको थियो । उक्त पुरस्कार ३ पटक पाउने उहाँ एकमात्र व्यक्ति हुनुहुन्छ । बखुम्बहाल, ललितपुरमा जन्मिनुभएका जोशीले ‘हाम्रो लोकसंस्कृति’ का लागि पहिलोपटक २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि संयुक्तरूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

जोशी २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृति संरक्षण र विकासमा लागिपरेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।

शताब्दी पुरुष जोशीले साहित्य, कलासंस्कृति र रंगमञ्चमा गर्नुभएका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलले पनि ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । उक्त कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायत विषय समेटिएका छन् । उक्त पुस्तकमा ५ दशकअघि काठमाडौंको जमलमा रहेको काठ गोदामलाई संस्कृतिविद् जोशीले नाटक देखाउने ठाउँमा परिणत गरेको प्रसंग समेटिएको छ । उक्त ठाउँलाई उहाँले नाचघरको नाम दिनुभएको थियो । त्यसपछि उक्त ठाउँमा नाच र नाटक देखाउन थालियो । र, यो क्रम हालसम्म जारी छ ।

२०१५ मा ३८ वर्ष उमेरमा उहाँ पुरातत्व विभाग (नेपाल) का निर्देशक बन्नुभएको थियो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीरअंकित चाँदीको सिक्का निष्कासन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्