‘परदेशको पसिना’ सार्वजनिक



काठमाडौं, (नेस) ।

पछिल्ला वर्षहरूमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ ।

किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गर्नुभएको छ । पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरूको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ । विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरूका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरूसँग कुराकानीसमेत गरेर तयारी पारिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेखहरू पुस्तकमा छन् ।

‘देशको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको अनुपातमा एक चौथाइ योगदान भएको, मानव विकास सूचकांकलगायतका सामाजिक÷आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्नेजस्तो लाग्छ,’ पुस्तकबारे सम्पादक यज्ञशले भन्नुभयो– ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्