बञ्चरेडाडाँ ल्याण्डफिल्ड साइट जाने वैकल्पिक सडक बनाउँछौं : मन्त्री झाँक्री



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाडाँ ल्याण्डफिल्ट साइट पुग्ने वैकल्पिक सडक बनाइने बताउनुभएके छ । उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक–पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्माणको काम अघि बढाइने बताउनभएको हो ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र पुग्ने सडकलाई तत्काल स्तरोन्नती गरिने बताउँदै मन्त्री झाँक्रीले बञ्चरेडाडाँ पुग्ने वैकल्पिक सडकको काम पनि तत्काल शुरू गरिने बताउनुभयो।

मंगलबार साँझ मन्त्रालयमा मन्त्री झाँक्रीको अध्यक्षतामा बसेको बञ्चरेडाडाँ स्यानिटरी ल्याण्डफिल्ड साइट सञ्चालनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा उहाँले उपत्यकाको फोहोर व्यवस्थापनको समस्यामा सधैं अल्झिरहन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘सबै एउटै समस्यामा अल्झिएर हुँदैन, अब दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडकको काम अघि बढाउनु पर्छ ।’

बञ्चरेडाडाँ र सिसडोल क्षेत्रका स्थानीयवासीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा एक अर्कालाई दोष थोपर्ने भन्दा पनि सबै निकाय समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले बञ्चरेडाडाँ ल्याण्डफिल्ड साइट र सिसडोलको सिमांकन गर्नुपर्ने बताउनुभयो। स्थानीयले पटक–पटक विवाद झिक्ने समस्या देखिएको बताउँदै उहाँले आयोजनाको क्षेत्रलाई स्पष्ट सिमांकन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

संघीय मामिला मन्त्रालयका सचिव सुरेश अधिकारीले बञ्चरेडाडाँ ल्याण्डफिल्ड साइटलाई छिटो सञ्चालनमा ल्याएर उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बञ्चरेडाडाँमा फोहोर व्यवस्थापनलाई सहयोग गर्न मन्त्रालयले प्राविधिक टोली बनाउने बताउनुभयो । उहाँले भन्नुभयाे,‘सधै एउटै समस्यामा समर्य खर्चिनु भन्दा दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने विषयमा योजना बढाएर अघि बढनु पर्छ ।’

बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन सिंगो उपत्यकाको समस्या रहेको बताउँदै यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । शहरी विकास मन्त्रालयले बञ्चरेडाडाँ ल्याण्डफिल्ड सञ्चालनमा प्राविधिक सहयोग गर्नुपर्ने माग गर्दै उहाँले उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकार पनि गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानीयसँग समन्वय गरेर सरकार अघि बढ्नुपर्ने बताउँदै आयोजना प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक लगायतका कुराको सहुलियत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्