सुकुटे क्षेत्रमा पर्यटक बढाउन पदमार्ग निर्माण हुँदै



सिन्धुपाल्चोक ।

स्थानीय र प्रदेश सरकारको सहयोगमा सिन्धुपाल्चोकको एक सुन्दर ठाउँ सुकुटेले पछिल्लो समय काँचुली फेर्दै गएको  छ । आन्तरिक तथा बाह्य पर्यटक बढाउन प्रदेश सरकारको ४५ लाख लगानीमा चौतारा साँगा चोक गढी नगरपालिकाको सुकुटे बृचदेखि रानीपोखरीसम्म पदमार्ग निर्माण गर्ने गरी काम शुरु भएको छ।

सुकुटेलाई काठमाडौँबाट नजिकको सुन्दर गन्तव्यको रूपमा लिइन्छ । भोटेकोसीमा  र्‍याफि्टङ गर्न काठमाडौंबाट नजिकैको रमणीय स्थलको रूपमा सुकुटे क्षेत्र  परिचित छ । सुकुटे क्षेत्रमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई अझै मनोरञ्जन दिई प्रवर्द्धन  गर्ने उदेश्य राखिएको छ । त्यसको लागि कोदारिमा होमस्टे सञ्चालन गरेर सोही बाटो हुँदै सिरान चौरमा प्याराग्लाइडिङ गर्न प्रोत्साहित गर्दै मुलखर्कबाट जुगल हिमालको सुन्दर दृश्य देखाउन ‘भ्यु टावर’ निर्माण गर्ने लक्ष्य रहेको चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो ।

सुकुटेमा मनोरञ्जन गर्न दिनहुँ सयौँको सङ्ख्यामा  पर्यटकहरू आउने गरेका छन् । यसबाट होटेल व्यवासायिले राम्रो आम्दानी गर्न थालेका छन् । सरकारले पर्यटन प्रवर्द्धन गर्ने योजना  लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेपनि कोरनाले लथालिङ्ग भएको  पर्यटन व्यवसायलाई माथि उठाउन पदमार्गले सहयोग पुग्ने आसा राखिएको उपभोक्ता समितिका अध्यक्ष उमेश थापा मगरले जानकारी दिनुभयो ।

यस पदमार्ग पूरा भई  पर्यटक वृद्धि भएमा गाउँमा  आय स्रोतमा वृद्धि भई पुरै गाउँ लाभान्वित हुने बताइएको छ । पद मार्गले स्थानीय कला र संस्कृति झल्कने भेसभुसा र रहनसहनलाई प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउन सकिने भए पछि गाँउलेहरू पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्