‘ग्रीन टी’का फाइदाहरु



अरु चियाभन्दा हरियो चिया अर्थात् ग्रीन टी तुलनात्मक रुपमा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अध्ययनहरुबाट पाइएअनुसार ग्रीन टीले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै तौल घटाउन सहयोग गर्छ र मुटु तथा रक्तनलीहरुको स्वास्थ्य राम्रो बनाउन पनि सहयोग गर्छ ।

इन्टरनेसनल इन्स्टिच्युट अफ सस्टनेबल डेभलपमेन्ट नामक संस्थाको अध्ययन प्रतिवेदन अनुसार चिया विश्वमा नै पानीपछि सबैभन्दा बढी सेवन गरिने पेयपदार्थ हो । चियामध्ये पनि ग्रीन टीलाई निकै फाइदाकारक मानिएको छ । परम्परागत रुपमा चीन र भारतमा ग्रीन टी रक्तश्राव नियन्त्रण तथा चोट लागेको उपचार गर्न, पाचन प्रणालीमा सुधार गर्न, मुटु स्वास्थ्य र मानसिक स्वास्थ्य राम्रो गर्न र नियमित शरीरको तापक्रम सन्तुलित बनाउनका लागि औषधिको रुपमा प्रयोग गरिँदै आएको छ ।

जुन देशमा ग्रीन टीको उपभोग उच्च छ त्यहाँ केही प्रकारका क्यान्सर हुने दर कम भएको विभिन्न अध्ययनहरुमा पाइएको छ । सन् २०२० को एक अध्ययन अनुसार ग्रीन टीको नियमित उपभोगले क्यान्सर हुने सम्भावनालाई कम गराएको छ । उक्त प्रतिवेदन ११ लाख मानिसहरुबीच अध्ययन गरेर तयार गरिएका १४२ वटा प्रतिवेदनहरु अध्ययन गरेर तयार गरिएको थियो ।

अध्ययन अनुसार छातीको क्यान्सर, डिम्बाशय, घाँटीको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, प्रोस्टेट क्यान्सर, पेटको क्यान्सर र छालाको क्यान्सरबाट बचाउन ग्रीन टी सहयोगी हुने पाइएको छ । तर जे भए पनि ग्रीन टीले क्यान्सरबाट बचाउने सम्बन्धमा थप अध्ययनको आवश्यकता रहेको अध्ययनकर्ताहरुले बताएका छन् ।

ग्रीन टीले तौल घटाउन, अल्जाइमर नियन्त्रण गर्न केही सहयोग गर्ने भए पनि यसबाट उच्चतम् प्रतिफल भने नपाइने अध्ययनकर्ताहरुले बताएका छन् । सन् १९९४ देखि ११ वर्ष लगाएर ४० देखि ७९ वर्ष उमेर समूहका ४० हजार जापानिज नागरिकहरुमा गरिएको अध्ययन अनुसार ग्रीन टीको सेवनले मुटु तथा रक्तनलीसम्बन्धी रोग नियन्त्रणमा पनि सहयोग गर्छ ।

यो अध्ययनमा सहभागीहरुमध्ये जसले दैनिक कम्तीमा पाँच कप ग्रीन टी सेवन गरेका थिए उनीहरुमा मुटु तथा
रक्तनली (कार्डियोभास्कुलर) सम्बन्धी रोगका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो ।

यस सम्बन्धमा सन् २०१६ मा अध्ययनकर्ताहरुले त्यसअघि भएका ९ वटा अध्ययन प्रतिवेदनहरु (जसमा करिब २ लाख ६० हजार मानिस सहभागी भएका थिए) समावेश गरेर विश्लेषण गर्दा कार्डियोभास्कुलर रोगको जोखिम कम गर्न ग्रीन टीले सकारात्मक कार्य गर्ने निष्कर्ष निकालेका थिए ।

अध्ययनकर्ताहरुले कोलेस्ट्रोल, टाइप टु डायबिटिज नियन्त्रण गर्न, स्मरण शक्ति वृद्धि गर्न ग्रीन टी सहयोगी हुनेसमेत बताएका छन् । ग्रीन टीमा ब्लाक टी र कफीमा भन्दा कम मात्रामा क्याफिन पाइने हुनाले क्याफिनले असर गर्ने मानिसलाई यसले त्यति हानि गर्दैन ।

स्रोत : मेडिकल न्युज टुडे

प्रतिक्रिया दिनुहोस्