गर्दनको दुखाइमा के गर्ने ?



डा. क्षितिज बराकोटी
(प्राकृतिक चिकित्सक)

हाम्रो काम गर्ने शैली र सुत्ने, बस्ने वा खेल्ने तरिकाहरु नमिल्दा गर्दनमा समस्या आउँछ । टाउकोभन्दा तलको वा मेरुदण्डको माथिल्लो भाग तथा घाँटीको ठीक पछाडि गर्दनमा रहेका हाड–जोर्नी, नसानली, मांसपेशी अनि वरपर भएका ग्रन्थिलगायतका अंगहरुमा हुने रोग वा समस्याहरुका कारणले गर्दनमा दुखाइ, गह्रुँगोपना, चस्किने, पोल्ने, झम्झमाउने आदि लक्षणहरु आउँछन् ।

गर्दन र वरपर भएका अंगहरुमा कुनै रोग, चोटपटक, संक्रमण, शोथ वा सुन्निने आदि कारणले यस्ता लक्षणहरु आएका हुन्छन् । कतिपय गर्दन दुखाइका साथमा रिँगटा लाग्ने, हिँड्दा वा उभिँदा हुत्तिने, सन्तुलन हराउने, लड्ने आदि लक्षणहरुसमेत देखा पर्दछन् । यस्ता लक्षणहरु कुन भागमा र कसरी प्रकट भएका छन् भन्ने कुरा गर्दनमा भएका रोग र त्यसको गम्भीरतामा भर पर्दछ ।

लक्षण र जटिलता

गर्दन दुखाइका साथमा टाउको दुखाइ, भारीपना, रिँगटा, गर्दन मोड्नमा कठिनाइ, टाउको हलचल गर्नै नसक्ने अवस्था आउन सक्छ । यसरी गर्दन दुख्दा हिँड्न, सुत्न, बस्न, लेखपढ गर्न, यताउति हेर्न र अन्य काम गर्नमा समेत कठिनाइ आइपर्न सक्छ ।

गर्दन दुखाइकै कारण कसैलाई चक्कर आएर लड्ने र एक्कासी पसिना आउने पनि हुन सक्छ ।

यसका साथै कमजोरी अनुभव हुने, कान र घाँटीको दुखाइ अनुभव हुने, पिठ्युँ एवम् पूरा ढाडसमेत दुख्ने, हातहरु गल्ने र हातले सामान्य एक–दुई किलोग्राम तौलका सामान पनि उठाउन गाह्रो हुने, हात झमझम हुने र औँलाहरुमा घोच्ने, लाटो हुने, पोल्ने आदि समस्याहरु पनि गर्दन दुखाइका साथमा आउन सक्छ ।

गर्दन दुखाईकै कारण कसैलाई चक्कर आएर लड्ने र एक्कासी पसिना आउने पनि हुन सक्छ । गर्दन दुखाइको कारण र गम्भीरता अनुरुप जटिलताहरु देखा पर्न सक्छन् । हाड–जोर्नीका समस्याहरु बढ्दै गएमा त्यसले नसा काटिने, हातका औंलाहरु वा पूरै हात लाटो हुने, नचल्ने, सुत्न, बस्न तथा उठ्न पनि नसक्ने गरी रिँगटा लाग्नेजस्ता समस्या उत्पन्न हुन्छन् ।

किन दुख्छ गर्दन ?

गर्दनको दुखाइका विभिन्न कारणहरु छन् ।

हाड तथा नसाका समस्या : गर्दनको हाड एक–आपसमा घस्रिएर खिइनु, मेरुदण्डको माथिल्लो भागका हाड सर्नु, हाडले नसा वा मांसपेशीलाई च्याप्नु, हाड बढ्नु, हाड सुन्निनु, हाड मक्किनु र कहिलेकाहीँ हाड–नसामा संक्रमण हुनुजस्ता कारणले गर्दनमा समस्या हुन्छ ।

बाथरोग : युरिक एसिड बढेर बाथरोग हुने वा कडा खालका आमबाथ वा -युमेट्वाइड अर्थराइटिस हुने, रक्तनलीका रोगहरु तथा ग्रन्थिहरुका रोग एवं घाउखटिरा वा चोटपटक, चर्मरोग लाग्नेजस्ता समस्याले पनि गर्दन दुख्न सक्छ । बढी रक्तचाप, अत्यधिक चिन्ता, तनाव तथा अन्य मनोशारीरिक रोगहरु हुँदा पनि गर्दन दुख्न सक्छ ।

शरीरको स्थिति : कुप्रो परेर बस्ने, सुत्दा बढी अग्लो सिरानी राख्ने, प्रायः निहुँरिएर काम गर्नुपर्ने, कम्प्युटर, कुर्सी वा अन्य ठाउँमा गर्दन झुकाएर बस्ने, काम गर्ने, सुत्दा–बस्दा शारीरिक स्थिति नमिलाउने मानिसहरु प्रायः यसरी गर्दन दुखाइबाट पीडित हुन पुग्छन् ।

खासगरी हिजोआज काम गर्दा कान र गर्दनको बीचमा मोबाइल वा फोन च्यापेर धेरैबेर गफ गर्ने, कोल्टिएर घण्टौंसम्म मोबाइल, ट्याब वा ल्यापटप चलाउनेजस्ता कारणले पनि गर्दनमा समस्या भएको पाइन्छ ।

बस्ने साधन : कुर्सी वा सोफाको किसिमले पनि गर्दनमा समस्या आउन सक्छ । साधारण कुर्सीभन्दा फरक गर्दनलाई सोझो राख्न नमिल्ने खालका साधन वा कुर्सी तथा सोफा आदिका कारणले पनि यो समस्या जन्मन्छ । यसरी नै साइकल, बाइक, गाडी आदि सवारीसाधनमा हुने सिटहरुको प्रकार र अवस्थाले पनि गर्दनको समस्या सृजना हुनमा भूमिका खेलेको हुन्छ ।

ओछ्यान : धेरै बाक्लो गद्दा, ज्यादै नरम वा अत्यधिक कडा ओछ्यान, असमतल ओछ्यानका कारण पनि गर्दनमा समस्या हुन्छ । यस्तै गरी आफ्नो शरीरको अवस्थाभन्दा फरक र नमिल्दो सिरानीका कारणले पनि प्रायः गर्दनमा समस्या आउन सक्छ । बढी अग्लो वा होचो, धेरै नरम वा कडा, अति सानो खालको सिरानी पनि यो समस्याको कारक हुन सक्छ ।

चोटपटक : कुनै दुर्घटना, खेलकुद, व्यायाम, योगाभ्यास (खासगरी आसन) वा कामका कारणले गर्दनमा पर्ने तीव्र धक्का, दबाब, थिचाइ, पिटाइ आदिले चोटपटक लागेमा गर्दनमा समस्या आउन सक्छ । मांसपेशीमा पर्ने तनाव, मर्कने, गलत वा अत्यधिक व्यायामको असरलगायतका कारणहरु पनि यसका कारक हुन सक्छन् ।

अन्य रोगहरु : गर्दनमा क्यान्सर, बाथरोगको असर आदिका कारण पनि गर्दन दुख्न सक्छ । कहिलेकाहीँ माइग्रेनको टाउको दुखाइसँगै गर्दनसम्म पनि दुखाइ हुन सक्छ । मानसिक समस्याहरुले पनि गर्दनसम्म दुखाइ हुन सक्छ ।

कसरी थाहा पाउने ?

चिकित्सकले स्वास्थ्य परीक्षण गरी गर्दन दुख्ने समस्या के कारणले भएको हो भन्ने प्रारम्भिक निदान गर्न सक्छन् । डाक्टरले बिरामीलाई प्रत्यक्ष रुपले दुखेको भागमा हेरेर, छामेर, दबाब दिएर वा टाउको–गर्दन वा काँधको भागसम्म चलाएर गर्दन दुखाइको अनुमान लगाउन सक्छन् ।

गर्दनको साधारण एक्स–रे, सी.टी.स्क्यान, एम.आर.आई. एवं प्रयोगशाला परीक्षणबाट समेत समस्याका कारकहरुको स्थिति थाहा पाउन सकिन्छ ।

प्राकृतिक उपचार

सुत्दा गर्दन र शरीर अनुरुप आकारको सिरानीको प्रयोग गर्ने र कडा ओछ्यानमा सुत्ने गर्नुपर्छ । कुर्सी वा अन्य कतै पनि बस्दा र काम गर्दा गर्दन सोझो राख्नुपर्छ । निहुँरिएर व्यायाम वा काम गर्नुहुँदैन ।

गर्दन बढी दुखेको अवस्थामा सपोर्टको निम्ति गर्दनको पट्टी (सर्भाइकल कलर) लगाउनुपर्छ । दुखाइ बढी भएको अवस्थामा दिनको दुई–तीनपटक गर्दन, काँध र पिठ्युँमा तातो–चिसो पालैपालो एक–दुई मिनेटका दरले सेक्ने, दैनिक एक–दुईपटक पाँच–दश मिनेट तातोले सेक्ने र सुन्निएको अवस्थामा चिसो पट्टीको प्रयोग दश मिनेटजति गर्न सकिन्छ ।

प्राकृतिक चिकित्सालयमा गएर स्थानीय तथा पूर्ण शरीरको वाष्पस्नान, मडप्याक, पोटली सर्फेस मसाज, धारापात, नेकप्याक, सनबाथ आदि विभिन्न उपचार प्रयोग गर्न सकिन्छ । प्राकृतिक चिकित्साका साथमा अकुपन्चर तथा फिजियोथेरापीलाई पनि प्रयोग गर्दा गर्दन दुखाइ निको पार्न सहज हुन्छ ।

उपयोगी योगोपचार

आराम : दुखाइ तीव्र भएको अवस्थामा शवासन, शिथिलासन वा बालसयनासनमा पूर्ण विश्राम गर्नुहोस् ।
(क) टाउको तथा गर्दनलाई चलाएर गरिने व्यायाम :

सावधानी : यी विधिहरुको अभ्यास केही विशेष अवस्थामा गर्नुहुँदैन । जस्तै– गर्दनको तीव्र दुखाइ, हाड सुन्निएको, हाड खिइएको र बढी नसा च्यापिएको अवस्था । तर मांसपेशीको सामान्य दुखाइमा थोरै पटक बिस्तारै गर्न सकिन्छ । यदि एक–दुईपटक गर्दा नै दुखाइको अनुभव भएमा रोक्नुहोस् ।

कान र काँधको बीचमा फोन राखेर बोल्ने बन्द गर्नुहोस् ।

विधि (१) :– ढाड सोझो राख्नुस् । अब टाउकोलाई दायाँतिर मोड्नुस् र केहीबेर रोकिनुस् । अब फेरि अर्कोतिर (बायाँतर्फ) टाउको फर्काउनुस् । बिस्तारै झड्का नदिईकन यसरी नै ५–१० पटक अभ्यास गर्नुस् ।

विधि (२) :– यसरी टाउकोलाई तल–माथि गर्नुस् अर्थात् टाउको/गर्दन मोडेर अगाडितिर झुकाई चिउँडोले छातीमा छोएर केहीबेर अडिनुस् र पुनः सोझो राखेर माथि लगी जतिसक्दो पछाडि हेर्ने प्रयास गर्दै केहीबेर रोकिनुस् । यसरी नै ५–१० पटक गर्नुस् ।

विधि (३) :– टाउकोलाई दायाँ र बायाँ पालैसँग बिस्तारै ढल्काउँदै कानले काँधतिर छुने प्रयास गर्नुस् । यसलाई पनि ५–१० पटक गर्नुस् ।

विधि (४) :– अब टाउकोलाई क्रमिकरुपले दायाँ, पछाडि, बायाँ, अगाडि क्रमशः लैजाने अर्थात् चारैतिर घुमाउने गर्नुस् । यसरी घुमाउँदा सबैतिरको भागमा छुने गरी टाउकोलाई अति नै ढिलोसँग घुमाउने गर्नुस् । छिटो–छिटो गर्दा रिँगटा लाग्छ । उल्टो–सुल्टो पालैसँग एक–एकपटक गरेमा रिँगटा कम लाग्छ ।

(ख) टाउको तथा गर्दनलाई नचलाईकनै गरिने व्यायाम :

बसेर वा उठेर व्यायाम गर्नुहोस् ।

विधि : – हातलाई कन्चेटमा राख्नुहोस् । श्वास पूरा भर्नुहोस् । अब श्वास रोकुन्जेलसम्म बिस्तारै हातले टाउकोमा थिच्ने र टाउकोले हातमा थिचेर टाउकोलाई स्थिर राख्नुहोस् र छोड्नुहोस् ।

यसरी नै बायाँतिरको कन्चेटमा, त्यसपछि दुवै हत्केलालाई निधारमा राखेर पनि त्यसै गरी श्वास लिएर रोक्ने, हात र टाउकाको बलले उसै गरी थिचेर टाउको र गर्दनलाई स्थिर राख्ने अभ्यास गर्नुहोस् । अन्त्यमा दुवै हातलाई कानको छेउमा राखी हल्कासँग माथितिर दुई–चार किलो तौल उठाउँदा लाग्ने बल प्रयोग गरी उचाल्नुहोस् र छोड्नुहोस् ।

(ग) काँधको व्यायाम :

बसेर वा उठेर अभ्यास गर्न सकिन्छ । गर्दनमा दुखाइ हुँदा त्यसले पिठ्युँदेखि काँधसम्म लक्षण देखिन्छ । त्यसको लागि यो व्यायामले फाइदा गर्दछ ।

विधि : श्वास लिँदै दुवै काँधलाई विस्तारै माथि उचाल्नुहोस् र श्वास छोड्दै तल राख्नुहोस् । पाँच–दशपटक गर्नुहोस् ।

(घ) मेरुदण्डासन :

विधि : उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ–बायाँ सोझो हुने गरी फैलाएर मुठ्ठी कस्नुस् । दुवै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् ।

यस्तो गर्दा एउटा खुट्टाको कुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुनुस्, तर यी दुवै भागहरु भुइँमा हुनुपर्छ । केहीबेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ ।

सावधानी : जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ ।

(ङ) मकरासन वा श्रद्धासन :

यो विशेषतः आराम गर्नको लागि गरिने आसन हो ।

विधि : घोप्टो सुत्नुहोस् । दुवै खुट्टालाई एक–डेढ फिट फरक पारी, खुट्टाको पञ्जालाई दायाँ–बायाँ फर्काई खुट्टाको भित्री गोलिगाँठोले भुइँमा छोएर खुट्टा/जीउ शिथिल पार्नुस् । अब दुवै हातलाई अगाडि ल्याएर कुहिना टेकाउनुस् र टाउकोलाई केही मात्रामा उठाई दुवै हत्केलामाथि चिउँडो टेकाउनुस् ।

केहीबेर यसरी बसेपछि जीउ तल राख्नुहोस् र हत्केलाको पछाडिको भागमाथि निधार टेकाएर केही मिनेटसम्म जीउ शीथिल राख्दै आराम गर्नुस् । यसरी नै २–३ पटक दोहो¥याउनुस् । यसलाई दिनको दुईपटकसम्म गर्नुहोस् ।

सावधानी : गर्भवतीहरुले गर्भावस्थाको तीन–चार महिनापछि घोप्टो सुती यस्तो आसन गर्नु ठीक हुँदैन । यसरी नै बढी छाती दुख्दा धेरै बेर यो आसन गर्नुहुँदैन । गर्दनमा दुखाइ बढी भएको अवस्थामा कुहिनाले टेकेर गर्नुहुँदैन ।

यसरी नै अनेक प्रकारका यौगिक व्यायाम तथा आसनहरु गर्न सकिन्छ । यौगिक शोधन विधिहरुको प्रयोग पनि गर्नुपर्दछ । दुखाइ कम गर्न प्राणायाम, प्रत्याहार, धारणा र ध्यानको प्रयोगले पनि निकै लाभ दिन्छ ।

खानपानको सुधार :

बाथरोग खासगरी मूत्राम्ल (युरिक एसिड) बढेर गर्दनमा दुखाइ हुनेहरुले सात्विक यौगिक आहार गर्नुपर्छ अर्थात् माछा, मासु, अण्डा, गेडागुडी, बियर, जाँडरक्सी, गोलभेंडा, तामा, फर्सी आदि बार्नुपर्छ । बरु यसको सट्टा फलफूल र हरियो तरकारी बढी खानुपर्छ ।

पानी बढी पिउने र पूरा शरीरकै व्यायाम गर्ने, पसिना निस्कने गरी हिँड्नेजस्ता उपायहरु अपनाएमा मूत्राम्ल वृद्धि भएर हुने गर्दन दुखाइमा फाइदा हुन्छ । अन्य प्रकारको समस्यामा पनि सादा खानपान गर्नुपर्छ । मूत्राम्ल सामान्य तर हाड कमजोर भएको अवस्थामा क्याल्सियम प्रधान कुराहरु (दूध, चीज, ज्वानो आदि) खानुपर्छ ।

भिटामिन डीको कमीमा घाम ताप्ने र त्यसको परिपूर्ति पनि गर्नुपर्दछ । विशेष अवस्थामा सम्बन्धित रोगको चिकित्सक (स्नायुरोग विशेषज्ञ, हाड–जोर्नी विशेषज्ञ आदि) को राय लिनु आवश्यक छ ।

बच्ने उपाय :

काम गर्दा, बस्दा वा सुत्दा सही ढंगले बस्नुहोस् । टाउकोदेखि मेरुदण्डको भागलाई सोझो राख्नुहोस् । चोटपटक लाग्न नदिन सुरक्षाका उपायहरु अपनाउनुहोस् । जता पनि पल्टिने नगर्नुहोस् । सिरानीको आकार, ओछ्यानको उचाइ, सुत्ने–बस्ने सही ठाउँको चयन गर्नुहोस् ।

कतिपयले कपाल काट्दा टाउको पड्काउने, मर्काउने गर्दछन् । त्यसले पनि समस्या आउन सक्छ, नगराउनुहोस् । टाउकोले टेक्ने खालका व्यायाम, आसन, नृत्य नगर्नुहोस् वा गुरुको निर्देशनमा मात्र यस्ता अभ्यासहरु सिक्नुहोस् । कान र काँधको बीचमा फोन राखेर बोल्ने बन्द गर्नुहोस् ।

टाउकोमा सामानहरु राखेर बोक्ने बानी छ भने नबोक्नुहोस् । बढी गह्रुँगो झोला वा तौल नउठाउनुहोस् । गर्दनमा गाँठागुँठी आएमा, सुन्निएमा, हात तथा पिठ्युँमा पोल्ने तथा झम्झमाउने आदि लक्षण भएमा वा आवश्यक पर्दा समस्याको शुरुआतमै चिकित्सकको सल्लाह लिनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्