प्रधानमन्त्री देउवाको भारत भ्रमण तय, एजेन्डा बाँकी



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा श्रीमती आरजुसहित भारत भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गरी प्रधानमन्त्री देउवाको भ्रमणबारे जानकारी दिएको हो । यद्यपि, विज्ञप्तिमा भ्रमणको एजेन्डा उल्लेख गरिएको छैन ।

गत असार २९ मा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमण जान लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएकोमा पछि कोरोनाका कारण स्थगित भएको थियो । प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रम तय भएपछि भ्रमणलाई राजकीय बनाउन प्रधानमन्त्रीपत्नी आरजुले भारत भ्रमण गर्नुभएको थियो । तर, परराष्ट्रको विज्ञप्तिमा प्रधानमन्त्रीको भ्रमणलाई राजकीय भनिएको छैन । यसअघि विश्व जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्कटल्यान्ड भ्रमणमा जानुभएको थियो ।

भारत भ्रमणमा प्रधानमन्त्रीसँगै उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै अन्य मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीच विद्यमान पुरानो सम्बन्धलाई ताजगी गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय उप–राष्ट्रपति श्री एम वेंकैया नायडूलाई भेट्ने कार्यक्रम रहेको छ भने भारतीय प्रधानमन्त्री मोदीसँग १९ चैतमा दुईपक्षीय वार्ताको कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, भारत भ्रमणमा क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा प्रधानमन्त्री देउवाले दिल्लीमा रहेका व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ भने स्वदेश फर्किनुअघि उहाँ वाराणसी जाने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्