प्रजनन उमेरदेखि सुत्केरीसम्मका रोचक कुरा



रोहिणी घिमिरे

कतिपय प्रजनन उमेरका किशोरी र सन्तानको चाहना भएका दम्पती एवं गर्भवती भइसकेका महिलाहरु प्रजननका विषयमा अनभिज्ञ हुन्छन् । उनीहरुलाई नै लक्षित गरी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले ‘एक शरीर ः दुई जीवन’ नामको पुस्तक तयार गर्नुभएको छ । बजारमा आइसकेको उक्त पुस्तकमा यौवनावस्था, महिनावारी, सुरक्षित चक्र, गर्भाधानलगायत शिशु एवं मातृ स्याहारसम्मका कुरा सरल रुपमा प्रस्तुत गरिएको छ ।

महिलाको जीवन बालिका, युवती हुँदै वृद्धावस्थासम्म चरणबद्ध रुपमा परिवर्तन हुँदै जान्छ । यसै क्रममा किशोरी अवस्थामा आउने विभिन्न परिवर्तनबारे उल्लेख गर्दै डा. ताम्राकारले उनीहरुलाई सुझावसमेत दिनुभएको छ । महिनावारी, सुरक्षित चक्र, गर्भाधान, छोरा कि छोरीका विषयमा सबैलाई कौतुहल लाग्नु स्वाभाविक हो । मासिक चक्रमा निश्चित अवधिसम्म गर्भ रहेन भने हर्मोनको मात्रा घट्दै जाने र फलस्वरुप पाठेघरको भित्री तह र अस्थायी रक्तनलीहरु भत्किन गई महिनावारीको रुपमा डिम्ब बाहिर निस्कने हुन्छ । यस कुरालाई लेखकले राम्रोसँग प्रस्ट्याउनुभएको छ ।

कुन–कुन दिनमा गर्भ रहँदैन भन्ने हिसाब गर्ने तरिका उदाहरणसहित दिइएकाले नवदम्पतीका लागि पुस्तक सहयोगी हुने देखिन्छ । छोरा वा छोरी के हुने भन्ने कुरा पुरुषमा निर्भर हुने कुरा वैज्ञानिक तर्कसहित उल्लेख गरिएकाले पुरुषलाई दोस्रो विवाह गर्न उक्साउने समाजका लागि पुस्तक गतिलो प्रहार हुनेछ ।

अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा बच्चा जन्मने मिति निस्कन्छ । तर ५ प्रतिशत गर्भवतीमा मात्र यो मिति मिल्ने गरेको र अधिकांशमा दिइएको मितिभन्दा ७ दिनजति अगाडि–पछाडि सुत्केरी हुने गरेको कुरा उदाहरणसहित छर्लङ्ग पारिएको छ । डा. ताम्राकारले गर्भचाँच र ल्याब टेस्टमा के–के पर्दछन् र कहिले गर्ने भन्ने पनि आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

गर्भावस्थामा बढेको पेट कपडा नाप्न प्रयोग गरिने फित्ताले नापेर गर्भ कति हप्ताको भएछ भन्न सकिने कुरा पुस्तकमा उल्लेख छ । गर्भ रहेको २४ हप्तापछि पुठ्ठाको हड्डीको अघिल्लो भागबाट पेटको माथिल्लो भागसम्म नाप्दा जति सेन्टिमिटर आउँछ, गर्भ पनि त्यति नै हप्ताको हुन्छ भन्ने कुरा उदाहरण दिएर प्रस्ट पारिएको छ । तर गर्भ रहेको २४ हप्ताभन्दा अगाडिचाहिँ फिताले नापेर गर्भ कति हप्ताको भयो भन्न नसकिने यसबाट बुझ्न सकिन्छ ।

भ्रूणको विकासक्रमका बारेमा कुरा गर्दा १२ हप्तासम्ममा फोक्सो, मृगौला, अस्थिपञ्जर, औंलालगायतको विकास हुने र प्रजनन अंगसमेत छुट्टिने कुरा बताइएको छ, जुन कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख गरेको कुरामा समेत मेल खान्छ ।

एकैपटक दुईवटा डिम्ब निषेचित भएमा वा निषेचित भएको एउटै डिम्ब पनि विभिन्न समयमा बाँडिएमा जुम्ल्याहा बच्चा जन्मिन्छन् । पाँचौं गर्भपछि जुम्ल्याहा हुने सम्भावना, जुम्ल्याहा भएको थाहा पाउने तरिका र पेटमा जुम्ल्याहा हुँदा के–के गर्नुपर्छ भन्ने कुरा उल्लेख भएकाले जुम्ल्याहासम्बन्धी धेरै कौतुहलता यस पुस्तकले मेटाउँछ ।

गर्भावस्था जोखिमपूर्ण हुने कारणमध्ये गर्भवती महिलाको रक्तसमूह नेगेटिभ हुनु पनि एक हो । पुरुषको पोजिटिभ र महिलाको नेगेटिभ रक्त समूह भएमा उनीहरुको बच्चाको रक्तसमूह पोजिटिभ हुने सम्भावना बढी हुने कुरा पुस्तकमा उल्लेख छ । यदि सो बच्चाको पोजिटिभ रगत आमाको रगतमा गयो भने त्यहाँ यस रक्त समूहविरुद्ध लड्ने तत्वहरु बन्ने हुन्छ, जुन अर्को गर्भमा आएको बच्चाको शरीरमा गयो भने गम्भीर प्रतिक्रिया भई बच्चाको मृत्यु नै हुने कुरा लेखकले दर्शाउनुभएको छ ।

त्यस्तै महिना नपुग्दैको सुत्केरी व्यथा, सुत्केरी व्यथा लाग्दाका लक्षण, जटिलता, त्यस बेला गरिनुपर्ने कुराहरु पढेर यस पुस्तकबाट गर्भवती महिलाहरुले धेरै लाभ लिन सक्ने देखिन्छ । सिजेरियन गरेर सुत्केरी गराउनुपर्ने अवस्थाका बारेमा पनि डा. ताम्राकारले कलम चलाउनुभएको छ ।

सिजेरियन गर्दाका जोखिमका बारेमा उहाँले लेख्नुभएको छ, ‘सिजेरियन अपरेसनको क्रममा पाठेघरको घाउ ठूलो हुने, मूत्रनली, मूत्रथैली वा आन्द्रामा असर पुग्ने एवं पाठेघर खुम्चिन नसकी अलि बढी रक्रश्राव हुन सक्छ । त्यसै गरी शल्यक्रियापश्चात् घाउ पाक्ने, मूत्रनली वा पाठेघरको भित्री तहमा संक्रमण हुने, छाती पाक्ने, पिँडौलामा रक्त सञ्चालन नहुनेजस्ता जटिलताहरु उत्पन्न हुन सक्छन् ।’

साधारणतया पहिले सिजेरियन गरेर बच्चा निकालेको छ भने पुनः अर्को बच्चा पाउँदा सिजेरियन नै गर्नुपर्ने कुरा हामीले सुनेका थियौँ । तर पहिलो बच्चा सिजेरियन गरेर निकाले पनि दोस्रो पाउँदा सिजेरियन नै नगरी योनिमार्गबाट पनि जन्माउन सकिने लेखकले उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘अपरेसनपश्चात् योनिद्वारबाट बच्चा पाउने सम्भावना ६० देखि ८० प्रतिशतसम्म हुन्छ ।’

अपरेसन कसरी गर्ने, यस क्रममा के–के गर्नुपर्छ भन्ने कुरा पनि पुस्तकमा उल्लेख गरिएकाले अपरेसन गर्नुपर्ने अवस्थामा पुगेका गर्भवती र उनका परिवारका लागि पुस्तक उएटा गाइड बन्न सक्छ । प्रजनन उमेरका जो–कोहीको खुुलदुलीको समाधान पुस्तकले गरेको देखिन्छ । त्यसैले ‘एक शरीर : दुई जीवन’ भनेर पुस्तकको नाम जुराइदिने साहित्यकार अमर न्यौपानेलाई लेखक डा. ताम्राकारले समेत आभार प्रकट गर्नुभएको छ ।

विभिन्न ५१ वटा रोचक विषय र खुल्दुलीहरुको समाधान भएको यो पुस्तक सन्तानोत्पादनको चाहना भएकाहरुलाई मात्र नभएर टिन एजमा प्रवेश गरेका किशोरी, स्वास्थ्य क्षेत्रका विद्यार्थी, सुडेनी, स्वास्थ्यकर्मी सबैका लागि उपयोगी छ । आवश्यकता अनुसार स्केच र तस्वीरसमेत राखिएको यस पुस्तकको मूल्य रु. १६०।– यसको गहनताका आधारमा सस्तो मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्