पर्यटन प्रवर्द्धनका लागि टर्कीका चर्चित अभिनेता दुज्यातान नेपाल आउने



विमल विष्ट, काठमाडौं ।

नेपालको पर्यटन प्रबद्धनमा सहयोग पु-याउनका लागि टर्कीका चर्चित अभिनेता उनगिनअल्टान दुज्यातान नेपाल आउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र टर्की–नेपाल व्यापार परिषद्का अध्यक्ष मेहमतमुस्तफा एकिनसेलरबीच आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा एकिनसेलरले नेपालको पर्यटन प्रवर्द्धन तथा टर्कीका पर्यटक नेपाल भित्र्याउनका लागि आफूहरू चर्चित अभिनेता दुज्यातानलाई नेपाल ल्याउने जानकारी दिनु भएको हो ।

टर्की–नेपालको पर्यटन प्रवर्द्धन तथा कोभिड पछाडिको पर्यटन उद्योगलाई माथि उकास्नका लागि भए पनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुने मन्त्री आलेले सो भेटघाटमा बताउनु भएको थियो ।\

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन पुर्नउत्थानको सहकार्यमा उहाँ आउँदो वैशाख महिनामा नेपाल आउने कार्यक्रम रहेको पर्यटन पुर्नउत्थानका संयोजक राजाराम गिरीले जानकारी दिनुभयो ।

अभिनेता दुज्यातान नेपाल आए टर्की लगायत मध्यपूर्वि देश तथा युरोपका नागरिकहरूलाई नेपालको पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकनमा आउन निकै सहज हुने र नेपालमा पर्यटकहरूको सङ्ख्या बढ्न सक्ने अपेक्षा लिइएको छ ।

आउँदो जेठ १४ गते भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम तयभएसँगै टर्र्किका अभिनेता दुज्यातान पनि नेपाल आउन लाग्नु भएको पर्यटन पुर्नउत्थानका संयोजक गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी टर्कीका चर्चित अभिनेता दुज्यातानलाई पनि नेपालमा ल्याउन लागिरहेका छौँ, जतिसक्दो हामी यहाँको पर्यटन प्रवर्द्धन तथा पर्यटक भित्र्याउन चाहन्छौँ ।” अभिनेता दुज्यातान नेपाल आउनु भएपछि युरोप र टर्कीका पर्यटकहरू नेपालमा बढ्न सक्ने आसा गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्