ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा



काठमाडौं (नेस) ।

इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्रान्ड ओडीसीका उत्पादन नेपाली बजारमा बिक्री वितरण शुरू भएको छ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

विद्युतीय सवारी साधान प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उहाँले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताउनुभयो । नेपालका लागि ब्रान्ड इगो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताउनुभयो ।

नेपालका लागि ब्रान्ड इगो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उहाँले बताउनुभयो । नेपालका लागि ब्रान्ड इगो अटोमोटिभको ब्रान्डमा आधिकारिक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि सञ्चालनमा आएको छ ।

यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरूको बिक्री वितरण हुने ब्रान्ड इगो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताउनुभयो । ब्रान्ड इगो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युत्ले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताउनुभयो ।

यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लुटुथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् ।

फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । हाम्रा उत्पादनहरू स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरू पर्नेमा हामी विश्वस्त छौं । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्