सजिलै फिल्म पाएपछि मेरो स्ट्रगल शुरु भयो : रिश्ता बस्नेत



फिल्म होस्टेलबाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री रिश्ता बस्नेतले यो कथा हो तिम्रो मेरो, दिल चुप छ, एउटा साथी, अधकट्टी, आधा पेज, रिफ्युजी, लुकामारीजस्ता फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर आफूलाई प्रतिभाशाली नायिकाका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएकी छन्। फिल्मबाहेक उनले फोटो फिरिममालगायतका दर्जनौं गीतका म्युजिक भिडियोको साथमा साथिया तेरे विना बोलको हिन्दी गीतको भिडियोमा समेत अभिनय गरेकी छन्। नेपाली सिनेमाकी चर्चित मेकअप आर्टिस्ट एवं कलाकार विपना बस्नेतकी छोरी रिस्ताको भाइ रिनेक्स बस्नेत पनि कला क्षेत्रमै आबद्ध छन्। रिश्तासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
हालै मेरो अभिनय तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको तिमी छौ र पो बोलको गीतको म्युजिक भिडियोसहित अन्य दुई भिडियो रिलिज भएको छ। अन्य म्युजिक भिडियोको लागि तयारी पनि गरिरहेकी छु साथै पासो नामक फिल्म यही १८ गते रिलिज हुँदैछ। फिल्म ए र पूर्व पश्चिम पनि रिलिज हुन बाँकी छ भने दुई ओटा वेब सिरिज पनि आउँदै छन्।

फिल्म र म्युजिक भिडियोमध्ये कुनमा काम गर्दा सजिलो अथवा गाह्रो लाग्छ? कमाइको हिसाबले कुन फाइदाजनक छ?
कामको हिसाबमा त उस्तै नै हो। कलाकारले जेमा काम गरे पनि आफ्नो अभिनय देखाउने हो। समयको हिसाबले फिल्ममा काम गर्दा ३०/३५ दिन लाग्ने भएकोले धेरै समय वर्कसप गरेर क्यारेक्टरमा डुबेर गर्न सकिन्छ। अधिकाशं म्युजिक भिडियोको काम भने एकै दिनमा सकिन्छ। यसरी हेर्दा समय पनि कम लाग्ने र कमाइ पनि हुने भएकाले म्युजिक भिडियो र एडहरूमा काम गर्दा फाइदा हुन्छ। तर, कलाको हिसाबले फिल्मबाट धेरै कुरा सिक्न र देखाउन सकिन्छ।

परिवार नै कला क्षेत्रमा भएकोले तपार्इंलाई त फिल्म खेल्न अन्य कलाकारहरूले जस्तो संघर्ष गर्नुपरेन होला हैन?
हो, ममी कलाकार तथा मेकअप आर्टिस्टको रूपमा लामो समयदेखि फिल्म क्षेत्रमै आबद्ध भएकोले मैले सजिलै फिल्म क्षेत्रमा प्रवेश गर्न पाएँ। हामी ठूला–ठूला स्टारको काख काखमै बसेर हुर्कियौँ। हाम्रो घरमा स्टारहरूको आउजाउ हुन्थ्यो, त्यस कारणले म पहिलेदेखि नै हिरोइन नै बन्छु भन्ने सोच्थेँ। यही क्रममा सुनील राउत दाइले होस्टेल मूभि बनाउने र फिल्मको लागि फ्रेस अनुहार चाहिएको भन्ने कुरा गर्नुभएछ र ममीले मेरी छोरी छे भनेर कुरा राख्नुभएछ। सुनील दाइसँग भेटघाट भएपछि फिल्मको लागि ठीक छ भन्नुभयो र होस्टेलमार्फत फिल्मी करिअर शुरु भयो।

परिवार नै कला क्षेत्रमा आबद्ध भए पनि सोचेजस्तो सफलता हात पार्न नसकेको महसुस हुन्छ?
हुन्छ नि। मैले सजिलै फिल्म क्षेत्रमा प्रवेश त पाएँ, तर त्यसपछि चाहिँ मरो स्ट्रगल शुरु भयो। कहिलेकाहीँ मेरो आफ्नै केयरलेसले हो कि, चुजी हुन सकिन कि भन्ने पनि लाग्छ। तर, फिल्म क्षेत्रमा भित्रभित्रै पोल्टिक्स पनि हुँदो रहेछ। त्यही कारण मैले साइन गरेर सुटिङमा जान लागेको फिल्म पनि गुमाएको छु। यहाँ आ–आफ्नो ग्रुप छ। कतिपय बिग ब्यानरका मूभिमा मलाई लिइसकेपछि पनि आफ्नो मान्छेलाई राख्नका लागि मलाई नराम्रो नभनिकनै हटाएको पनि अनुभव छ। अर्को कुरा सो कल्ड बिग ब्यानरमा काम गरेपछि मात्र कलाकार सक्सेस हुन्छ भन्ने चलन पनि छ।

अहिलेसम्म आफूले काम गरेको निर्देशकमध्ये कोसँग काम गर्दा सजिलो लाग्यो?
पुराना निर्देशकहरू ओमप्रकाश गुरुङ, नवल नेपालदेखि लिएर अहिलेका नयाँ निर्देशकसँग काम गर्दा सबै जनाको आ–आफ्नै काम गर्ने तरिका फरक रहेको पाएँ। सबैजना आफ्नो ठाउँमा बेस्ट हुनुहुन्छ र सबैसँग सहज नै लाग्छ। नवल नेपाल दाइले प्रायः जसो वुमन सेन्ट्रिक मुभी बनाउने भएकोले उहाँले देखाउन चाहेअनुसार कलाकारलाई बुझाउन र प्रस्तुत गर्न सक्नुहुन्छ। त्यस्तैु नयाँ पुस्ताका कलाकारको इमोसन र क्षमता बुझेर प्रस्तुत गर्ने क्षमता हेमराज बिसी दाइसँग छ।

अहिलेसम्म आफूले चाहेजस्तो भूमिकामा अभिनय गर्न पाउनु भएको छ?
अहिलेसम्म गरेका फिल्ममध्ये पासोमा मैले सोचेभन्दा पनि माथिको भूमिकामा अभिनय गर्ने अवसर मिलेको छ। यो डार्क मूभि थियो। स्ट्रगल तथा ससँईभल जनरामा बलिउड तथा हलिउडमा यस्तो मुभी बने पनि नेपालको लागि भने यो फिल्म एक्सपेरिमेन्टल हुनेछ। यो फिल्ममा पहिलेको जस्तो रोनाधोना, नाच्ने गाउने केही छैन। उक्त फिल्ममा सरुको क्यारेक्टर गरेको छु, जुन मैले सोचेको भन्दा धेरै माथिको क्यारेक्टर हो। आजसम्म गरेका रोलप्रति पनि खुसी छु, त्यही कारण अहिले यहाँ छु।

अभिनय मात्र गरे जीविकोपार्जन गर्न सकिन्छ?
एकदमै व्यस्त छ, फुर्सदै हुँदैन भनेचाहिँ सकिन्छ, तर त्यस्ता कलाकार निकै कम छन्। ठीकठीकै व्यस्तता छ, हप्तामा एक दुईटा म्युजिक भिडियोको काम भइरहेको छ भने सामान्य जीविकोपार्जन मात्र गर्न सकिन्छ। कलाकारले सकेसम्म अन्य व्ययवसाय पनि गर्दा राम्रो हुन्छ।

नेपाली फिल्ममा हिरो र हिरोइनलाई दिने पारिश्रमिकमा कत्तिको भिन्नता छ?
भिन्नता छ नि। हावा नचली पात हल्लिदैन भने जस्तै बेला–बेला यो कुराको चर्चा भइरहेकै पनि छ। मैले पनि अनुभव गरेकै कुरा हो। म्युजिक भिडियोमा होस या फिल्ममा मेललाई भन्दा फिमेललाई कम नै पारिश्रमिक दिइन्छ। फिमेलले बढी पारिश्रमिक पाउने अवस्था पनि छ। त्योचाहिँ म्युजिक भिडियोमा यदि केटा नयाँ छ अथवा स्ट्रगलिस्ट भने चाहिँ मेलले भन्दा मैले बढी पाएको हुन्छु। तर, फिल्ममा भने उस्तै काम भए पनि हिरोलाई बढी र हिरोइनलाई कम दिईन्छ।

अबको योजना के छ?
केही फिल्म तथा म्युजिक भिडियोको कामको लागि कुरा भइरहेको छ। अभिनयप्रतिको अट्याचमेन्टका कारण कला क्षेत्रमा लागेको हुनाले र यही फिल्डमा भिजिसकेको हुनाले आगामी दिनमा पनि कलाकारितालाई नै निरन्तरता दिने सोचमा छु। क्यामरा अघि होस् या पछाडि, जहाँ रहेर भए पनि सकुञ्जेलसम्म कला क्षेत्रमै रहनेछु। अहिले पुनः हल खुलेपछि फिल्म हेर्न तथा दर्शकको उपस्थिति कस्तो रहेछ भनेर फिल्म हेर्न गएको थिएँ। दर्शकहरू पहिले जस्तै केही नभए जस्तै गरी हलमा आउन थाल्नुभएको रहेछ। हल खुलेपछि र दर्शकको राम्रो उपस्थिति देखेर निकै खुसी लाग्यो।

हलमा जादा नेपाली फिल्म हेर्नुभयो कि अन्य?
हामी दर्शकलाई नेपाली फिल्मलाई माया गरौं भनिरहेका हुन्छौ अनि आफूले चाहिँ नेपाली फिल्म नहेर्ने भन्ने कुरा हुँदैन नि। त्यसैले, त सधैं जसको फिल्म लागे पनि नेपाली फिल्म नै हेरिरहेकी हुन्छु। त्यो बेला पनि जुन फिल्म लागेको भए पनि नेपाली फिल्म नै हेर्छु भनेर हलमा गएको थिएँ। तर, कठपुतलीजस्तो राम्रो फिल्म लागेको रहेछ। त्योसँगै अर्को हिन्दी फिल्म र साउथ भूमि पुष्पा लागेको थियो मैले पहिला कठपुतली हेरेँ अनि अर्को दिन पुष्पा हेरेँ।

प्रतिक्रिया दिनुहोस्