रुपन्देही सुपरलिगको उपाधि चौथो पटक एमसीसीलाई



न्युज अफ नेपाल, भैरहवा ।

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ८ ओभरमा सबै विकेट गुमाउँदै २८ रन बनाएको थियो । जसका लागि अजय त्रिपाठीले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न एमसीसीका रुपेश कुर्मीले ६, सन्तोस यादवले ३ र शिव कुमार मौर्यले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा २९ रनको झिनो लक्ष्य पाएको एमसीसीले ७ ओभरमा सहजै लक्ष्य पार गर्‍यो । एक विकेटको क्षतिमा २९ रन बनाउँदै ९ विकेटले जित निकाल्यो । जसका लागि सुशान्त थापाले अविजित १५, विजय प्रजापतिले अविजित ८ र शेहजाद आलमले दुई रन बनाए । बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए । फाइनल खेलमा रमेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

एमसीसीले चौथौ पटक उपाधि जित्न सफल भएको छ । च्याम्पियन एमसीसीले ८० हजार नगद, उप विजेता बुद्ध क्रिकेट क्लब ४० हजार नगदसहित र ट्रफी प्राप्त गरेका छन । उनीहरूलाई सिद्धर्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारीले पुरस्कृत गरेका छन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडी (म्यान अफ द सिरीज) र वेष्ट वलरबाट एमसीसीका क्यापटेन रोशनलाल गुप्ता पुरस्कृत भए । उनले क्रमशस् नगद १५ हजार र ५ हजारसहित ट्रफीले पुरस्कृत भए । त्यस्तै वेष्ट ब्याट्स म्यान र उदयमान खेलाडीबाट विजय प्रजापति नगद ५–५ हजार र ट्रफीले पुरस्कृत भए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ । फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणमा राउण्ड रोबिन लिग खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्