मुगुका ५२ वर्षीय शाही म्यादीको लाइनमा, भन्छन् – ४० दिन भए पनि रोजगारीको आस छ



न्युज अफ नेपाल, मुगु ।

कर्णाली प्रदेश चरम गरिबिको मारमा छ । कर्णालीमा १० वटा जिल्ला छन् । ती मध्येको विकट हिमाली जिल्ला हो मुगु । यहाँ भाषा, सांस्कृतिक, धार्मिक, जडिबुडी, विभिन्न प्रकारका ताल, हिमाललगायत पर्यटकीय क्षेत्रले ओगटेको छ ।

यहाँका सम्भावित क्षेत्रको उचित प्रचारप्रसार नहुँदा जिल्लामा रोजगारीको अवसर छैन । मुगुवासी रोजगारीको लागि खाडी मुलुक धाउने गरेका छन् । मुगुको बेरोजगारी म्यादी प्रहरीको लाइनमा समेत देख्न सकिन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मुगुले म्यादी प्रहरीको भर्ना लिइरहेको छ । म्यादीको लाइनमा १८ वर्षदेखि ५२ वर्षसम्मका नागरिक छन् ।

जिल्ला प्रहरी कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म भर्ना आह्वान गरेको छ । मुगुका नागरिकलाई रोजगारी र आर्थिक श्रोतको बाटो नहुनाले मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला ५२ वर्षीय केशर शाही कागजात समातेर म्यादी प्रहरीको लाइनमा छन् ।

घरमै कृषि मजदुरी गरेका शाही म्यादी प्रहरीको आवेदन खुलेको जानकारी प्राप्त भएपछि दरखास्त दिन गमगढी पुगेका हुन् । ‘घरमा अरू आयस्रोतको बाटो छैन । ४० दिनको लागि भए पनि काम पाइन्छ कि भनेर म्यादीमा भर्ना हुन आएको हुँ,’ उनले भने । उनको घरमा चार जना सदस्य रहेका छन् । सानो परिवार भए पनि उनलाई आर्थिक अभावले निकै समस्या हुने गरेको छ ।

छोरा छोरीको पठापठनमा थोरै भए पनि सहयोग पुग्ने आसाले आफूले म्यादी प्रहरीमा भर्ना हुन चाहेको उनले बताए । ‘घरमा खान लगाउन पुग्दैन । गाह्रो छ,’ उनले भने ।

उनी जस्तै ३५ वर्षीय कमल जंग शाही पनि म्यादी प्रहरी भर्नाको लाइनमा छन् । उनको समस्या पनि केशरको जस्तै छ । ‘यहाँ पनि पहुँच भएकाहरूले नै जागिर पाउने होलान् । हाम्रो त आफ्नो कोही छैन । म्यादीमा ४० दिन भए पनि काम पाइए घरको थोरै गर्जो टर्थ्यो,’ उनले न्युज कारखानासँग भने ।

यस पटक जिल्ला प्रहरी कार्यालय मुगुमा ४ सय ६९ जना म्यादी प्रहरीको माग रहेको छ । बिहीबारसम्म म्यादीका लागि ७ सय ५० जनाले आवेदन भरिसकेको जिल्ला प्रहरी कार्यालय मुगुका कार्यालय प्रमुख सुवास हमालले बताए । न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्