सुनकोशी गाउँपालिका-१ ठोकर्पामा शत प्रतिशत घरमा खानेपानीको धारा



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ ठोकर्पामा शत प्रतिशत घरमा खानेपानीको धारा जडान गरिएको छ । मिटरजडित धारामार्फत नियमित खानेपानी आपुर्ती गर्ने सुनकोशी गाउँपालिका-१ ठोकर्पाका सबै घरधुरीहरू तथा संघसस्थाहरू सहित शत प्रतिशत सात सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्रबहादुर कार्कीले बताए ।

अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिब ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरूबाट खानेपानीको अपुर्ती भइरहेको वडा अध्यक्ष कार्कीको भनाइ छ ।

वर्षायामको समयमा करिब शत प्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी सिस्टममा जोडेर खानेपानीको अपुर्ती गरिएको छ एक गाग्री पानीको लागि घण्टौं हिँडेर पानी ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीय जानुका भण्डारीले खुसी व्यक्त गरिन् । उनी भन्छिन्, ‘अब खानेपानीको लागि लामो समयसम्म दिनै माया मारेर जानुपर्ने बाध्यता हट्यो ।’

स्थानीय सरकारको निर्वाचन पश्चात यस वडाले वडाको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको विषयलाइ लिएर विभिन्न अध्ययन गरी १५ जेठ २०७५ मा घरघरमा धारा घरघरमा पानी अभियानको थालनी गरेको थियो ।

पहिलो चरणमा वडाको तल्लो भागमा रहेको एउटा मुहानलाई लिफ्टिङमार्फत माथिल्लो स्थानसम्म लगि ६४ घरधुरीहरुमा पानी उपलब्ध गराउन सफल भएको थियो । खानेपानीको पहिलो योजना सफल भएपश्चात वडामा रहेका खानेपानीको अन्य प्राकृतिक श्रोतहरुको खोजी गरी पानीलाई एकीकृत गरी वडाको सम्पूर्ण घरधुरीहरुमा पानी पुर्‍याउने लक्ष्यले एउटा डिपबोरिङ, ३ वटा लिफ्टिङ र अन्य ससाना प्राकृतिक श्रोतहरूलाई समेत संकलन गरी खानेपनी योजनाहरू सम्पन्न गरिएको पालिका अध्यक्ष श्रवणकुमार जिसीले बताए ।

अध्यक्ष जिसी भन्छन्, ‘विस्तारै वडाका सम्पूर्ण घरधुरीहरुमा धारा निर्माण गर्ने कामको थालनी भयो । त्यसमा पनि बालमैत्री धाराहरु निर्माण भए ।’ खानेपानीको संकलन गर्न तथा वितरण गर्नका लागि दुई लाख लिटर क्षमतादेखि २० हजार लिटर क्षमतासम्म गरी जम्मा २६ वटा रिजर्भ तथा वितरण ट्यांकीहरू निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्