गुल्मी अस्पतालमा ३५ प्रकारका विशेष ल्याब परीक्षण सुविधा थपिए



न्युज अफ नेपाल, गुल्मी।

गुल्मी अस्पतालमा ३५ प्रकारका परीक्षणको सुविधा थप गरिएको छ । गुल्मी अस्पतालको प्रयोगशाला सेवालाई सुद्धृढीकरण गर्दै लैजाने क्रममा विशेष प्रकारका परीक्षणहरू थालिएको गुल्मी अस्पतालले जनाएको छ ।

गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीका अनुसार अब थाइराइडको एन्टीबडी, विभिन्न भिटामिनको मात्रा, टयुमर मार्कर, मधुमेह, हर्मोनहरुको परिक्षण गरिनेछ । त्यस्तै रगत जमेको वा नजमेको पत्ता लगाउन गरिने परीक्षण, मुटु रोग तथा कलेजो रोग पत्ता लगाउन गरिने विशेष परीक्षण, रत्तअल्पताको प्रकार छुट्याउने लगायतका ३५ प्रकारका नयाँ परीक्षणको सुविधा थप गरिएको पन्थीले जानकारी दिए ।

ब्लड बैंकमा रगत सञ्चय गरेर राख्न सक्ने सुविधा समेत उपलब्ध रहेको पन्थीले बताए । स्वास्थ्य बिमासँगै अस्पतालले प्रयोगशाला सुद्धृढीकरण र सुविधा थप्दै गएपछि प्राइभेट अस्पतालहरूमा चर्को शुल्क तिरेर परीक्षण गर्ने नागरिकलाई राहत भएको छ ।

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाबाट गुल्मी अस्पतालले प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चितताका सम्बन्धमा गुणस्तर मापन गर्दा अतिउत्तम नतिजा हासिल गरेको छ । गुणस्तर नियन्त्रण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला शाखाबाट वितरण गरिएको ४९ लटको क्वालिटी कन्ट्रोल स्याम्पल परीक्षण गर्दा रिर्पोटको गुणस्तर अतिउत्तम आएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

प्रयोगशालाले नमुना संकलन, परीक्षण, भण्डारण, परीक्षण विधि र ढुवानी लगायत प्रक्रियाको लागि राष्ट्रियस्तरमा निर्धारण गरिएको कार्य सञ्चालन निर्देशिका समय सापेक्ष तथा प्रयोगशाला सापेक्ष अद्यावधिक गरी सो अनुरुप कार्य गर्ने गराउने गरेको पच्याले बताए ।

प्रतिक्रिया दिनुहोस्