वर्ल्ड कार अवार्ड घोषणा हुँदै



काठमाडौं (नेस) ।

वर्ल्ड कार अवार्डका आयोजकले चाँडै नै तीन फाइनलिस्टमध्ये एउटालाई विश्वप्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि प्रदान गर्ने भएको छ । अवार्डमा यसपटक इतिहासमै पहिलोपटक, तीन ओटै फाइनलिस्टहरू इलेक्ट्रिक कार रहेका छन् ।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च–इ, हुन्डाइ लोनिक–५ र किया इभी–६ परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेसनल अटो सोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्नेछन् ।

उक्त समारोहमा वल्र्ड लक्जरी कार, वल्र्ड परफमेन्स कार र वल्र्ड इलेक्ट्रिक भेहिकल अफ द इयरलगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिने भएको छ । इलेक्ट्रिक कारहरूका लागि छुट्टै श्रेणी रहे तापनि कार अफ द इयरमा तीन ओटै फाइनलिस्टहरू इभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ ।

कार अफ द इयरको तीनओटै फाइनलिस्ट इभी रहे पनि हुन्डाइको लोनिकबाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् । यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वल्र्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेकाले सन् २०२२ मा हुन्डाइ लोनिक–५ले कुनै न कुनै अवार्ड पाउने निश्चितजस्तै भएको कम्पनीले जनाएको छ ।

विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनौट गरिने डब्लुसीए अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु राम्रो कुरा हो । यसरी इलेक्ट्रिक गाडीले पुरस्कार पाउनुले अन्य कार निर्माता पनि नयाँ–नयाँ इभी बनाउन प्रेरित हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्