नेपाल भारतबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल



वीरगन्ज (नेस) ।

भारतको आजादीका अमृत महोत्सवअन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा बुधबार ‘विहार सरकार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन’ शीर्षकमा छलफल आयोजना गरियो । द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाई समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

उक्त कार्यक्रमका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो रहनुभएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआईडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए ।

छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिका साथ प्रदेश सचिव पनि आउनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई लिएर चर्चा गरेका थिए । भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो ।

मधेस प्रदेश र विहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्धनमा ध्यान केन्द्रित गरिएको थियो । सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्