महोत्तरीको रौजा शरिफमा उर्सेपाकको रौनक



न्युज अफ नेपाल, जनकपुरधाम ।

नेपालको अजमेर शरिफ भनेर प्रसिद्ध महोत्तरीको रौजा मजार शरिफमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि उर्श ९धार्मिक मेला० लागेको छ । प्रत्येक चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्स धुमधामको साथ मनाउँदै आएको छ ।

चैत ८ गतेदेखि नै सुरु भएको उर्समा नेपालसहित छिमेकी मुलुक भारतका लाखौं धार्मिक श्रद्धालु सहभागि छन् । त्यसैगरि, उर्सको अवसरमा रातिको समयमा जलसा (धार्मिक प्रवचन) हुँदै आएको छ । भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको मजारमा फतिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामबाट करिब १२ किलो मिटर पश्चिममा अवस्थित रौजा मजार शरिफमा लागेको उर्से पाक औलया–ऐ केरामको दोस्रो दिन बुधबार प्रदेश मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारी, प्रदेश सांसद जयनुल राइन, सुरिता साह, बलवा नगरपालिका मेयर विनोद यादवसहितका नेता सहभागि भएका छन् ।

मुख्यमन्त्री राउत, नेता भण्डारीले तीनै बाबाको मजारमा चादर चढाएका थिए । बाबाको मजारमा चादर चढाउँदै मुख्यमन्त्री राउतले रौजा माजार शरिफलाई धार्मिक स्थलको रूपमा विकास गर्नुपर्ने बताए । रौजा माजारलाई व्यवस्थित बनाएको खण्डमा मधेश प्रदेशको पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताउँदै मुख्यमन्त्री राउतले मजार शरिफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट भइरहेको बताए ।

वरिष्ठ नेता भण्डारीले भारतको अजमेर शरिफ जस्तै महिमा बोकेको रौजा मजार सरिफलाई नेपालकै धार्मिक पर्यटक क्षेत्र मध्येका एक रहेको बताए । रौजा मजार शरिफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताउँदै नेता भण्डारीले भने, ‘महोत्तरीवासी वा प्रदेशवासीको मात्रै होइन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रवर्द्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकास ठुलो टेवा पुग्छ ।’

उर्समा सहभागि भएका मुख्यमन्त्री राउत, तथा राजनीतिकर्मिहरूलाई मजार विकास समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरूलाई प्रवचनको बोलाइएको मजार विकास समितिका अध्यक्ष सलिम राइनले बताए । उर्समा सहभागि भएका श्रद्धालुभक्तजनको पानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरू सञ्चालन गरिएको समितिका सहसचिव अली हुसेन नदाफले बताए ।

सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिब एक हजार स्वय्सेवक परिचालन गरिएको उनले बताए । १० चैत सम्म चल्ने उर्सको तेस्रो दिन बिहीबार दिउँसो दुई बजे वरिष्ठ धार्मिक गुरुको हातबाट चारपोसीको कार्यक्रम रहेको सहसचिव नदाफले बताए ।

 

प्रतिक्रिया दिनुहोस्