भोलि प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ जनकपुर आउँदै



न्युज अफ नेपाल, महोत्तरी ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुर आउने भएका छन् ।चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

मङ्गलवार १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । ‘वहाँहरू भोलि आउनुहुन्छ र हामी मधेस प्रदेशमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल पनि गर्छौ,’ अर्का केन्द्रीय सदस्य राजु खडकाले भने ।

नेताद्वय प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेपछि प्रशिक्षण, भेटघाट कार्यक्रममा सहभागी बन्ने केन्द्रीय सदस्य राजु खडकाले बताए ।

प्रतिक्रिया दिनुहोस्