राष्ट्रिय सङ्ग्राहलयलाई सार्क राष्ट्र स्तरको सङ्ग्राहलय बनाउन आवश्यक छ : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्राहलयलाई सार्क राष्ट्र स्तरको सङ्ग्राहलय बनाउनु पर्ने बताउनु भएको छ । ६३ औँ राष्ट्रिय सङ्ग्राहलय स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले पर्यटन प्रबद्धन, संस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय सङ्ग्राहलयलाई स्तरोन्नती गर्दै सार्क राष्ट्र स्तरको सङ्ग्राहलय बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालको बिभिद पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रुपमा रहेको राष्ट्रिय सङ्ग्राहलयलाई अझै बढी प्रचार प्रशार गरी देशको एउटा पर्यटन गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक छ ।” यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्राहलयलाई स्वदेशी तथा बिदेशी सङ्ग्राहलयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्राहलयको ज्ञान सिप तथा कलाहरु आदान प्रदान गर्न सके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्राहलय नेपालको पर्यटन गन्तव्यका रुपमा स्थापित हुने बताउनुभयो ।

राष्ट्रिय सङ्ग्राहलयको वार्षिक बजेट पनि थोरै ९रु तीन करोड० भएकाले अबको बजेटमा राष्ट्रिय सङ्ग्राहलयको बजेट पनि थप गरिने समेत जानकारी गराउनुभयो । यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्राहलयमा देश बिदेशबाट पनि अवलोकनका लागि नागरिकहरु आउने भएकाले उक्त क्षेत्रमा सरसफाइदेखि फुलहरु रोपेर सुन्दर बनाउनु पर्ने धारणा राख्नुभयो ।

उहाँले थप भन्नुभयो, “हामी जेठ १५ गते बजेट ल्याउने तयारीमा छौँ, यो सङ्ग्राहलयको भौतिक संरचनादेखि अन्य निर्माणका काम गर्नका लागि आवश्यक पर्ने रु २५ करोड बजेट माग गर्नुस्, बजेटको व्यवस्था म मिलाउछु ।” नेपालका प्रथम प्रधानमन्त्री जनरल भिमसेन थापाले बिसं १८८१ मा स्वदेशी तथा बिदेशी हातहतियार जम्मा गरिएकाले सुरुमा यस सङ्ग्राहलाई सिलखाना भनिएको र इरोपेली बास्तु सैलीमा निर्माण गरिएको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

राष्ट्रको संस्कृति, पुरातात्वि, धार्मिक यवम सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रदर्शनमा राष्ट्रिय सङ्ग्राहलयको भुमिका निकै महत्वपूर्ण रहेकाले पनि यस सङ्ग्राहलयको थप विकास र विस्तार गर्न आवश्यक रहेको समेत मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको कला, संस्कृतिको संरक्षण गर्ने सङ्ग्राहलयलाई सबै मिलेर देश बिदेशमा चिनाउन लागि परौँ ।”

उक्त कार्यक्रममा मन्त्री आलेले राष्ट्रिय सङ्ग्राहलयको कला, सम्पदा नेपाली र अंग्रेजी भाग ५ को पुस्तक समेत बिमोचन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सङ्ग्राहलयमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । मन्त्री आलेले राष्ट्रिय सङ्ग्राहलयको ऐतिहासिक भवन भित्र रहेको मुस्ताङ कक्षको पनि उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्