लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाण



न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको जाँचबुझ गरिने बताउनु भएको छ । गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।

फाग पूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो । त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको थियो ।

‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’ गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै उहाँले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
गृहमन्त्री खाणले मोरङका प्रही प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

घटनामा २९ प्रहरी घाइते भएका थिए । ती मध्य अहिलेसम्म पाँच प्रहरी कोसी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्