देश चिनाउन फोटो पुस्तक



सांस्कृतिक संस्थानले प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ। राजधानीमा हालै आयोजित पत्रकार सम्मेलनमा संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले संस्थानले आगामी २०७९ असार ५ गते मनाउने ५०औं वार्षिकोत्सवका अवसरमा मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्राजस्ता प्रदर्शनकारी कलासँग जोडिएका जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटो समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्न लागेको हो।

पुस्तकका लागि संस्थानले फोटो आह्वान गरेको छ। प्राप्त फोटोमध्ये निर्णायक समितिको छनोटका आधारमा लगभग तीन सय फोटो पुस्तकमा समेटिने उनले जानकारी गराए। त्यसमध्ये उत्कृष्ट १० फोटोलाई जनही १० हजार रुपियाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ।

फोटो छनोटका लागि संस्थानले नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं संस्कृतिविद् प्रा. तुलसी दिवस, फोटोग्राफर राजभाइ सुवाल र फोटोपत्रकार विकास कार्की सम्मिलित निर्णायक समिति गठन गरेको छ।

इच्छुक फोटोग्राफरले आगामी चैत २५ गतेभित्र फोटो पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ। संस्थानका महाप्रबन्धक राईले पुस्तक नेपालको सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउन महत्वपूर्ण सामग्री हुने बताए। फोटोग्राफर राजभाइ सुवालले पुस्तक समय र बदलिँदो संस्कृतिको साक्षी हुने बताए।

प्रतिक्रिया दिनुहोस्