स्थानीय तहको चुनाव : पर्सामा सरगर्मी बढ्दै 



कृष्णउदास खनाल, वीरगन्ज ।

मुलत : स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएसँगै पर्सामा पनि दलहरू तीव्र तयारीमा जुटेका छन् । १४ वटा पालिका रहेको पर्सा जिल्लामा बहालवाला जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले चुनावी अभियान शुरु गरिसकेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दिनहुँ राजनीतिक दलहरूको पार्टी प्रवेश कार्यक्रम पनि भइरहेको छ ।

स्थानीय तहमा उम्मेदवारी दिने कतिपयले आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेका छन् । यसअघि निर्वाचित अधिकांश बहालवाला जनप्रतिधिनीहरुले फेरि पनि चुनाव लड्ने मनसाय बनाएका छन् । स्थानीय तहको चुनाव आउन ८ हप्ता बाँकी रहँदा कतिपय बहालवाला जनप्रतिनिधिले फेरि पनि चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

उनीहरूले आफूले पहिला गरेको वाचा अनुसार काम गरेको दाबी गर्दै फेरि आगामी चुनाव लड्ने घोषणा गरिरहेका छन् । १४ वटा पालिकाका प्रमुख , उपप्रमुख र वडा अध्यक्षहरूले फेरि पनि त्यही पदमा दोहोर्‍याउने गरी उम्मेदवारी घोषणा गरिरहेका छन् ।

एक हप्ता अघि मात्र जसपा छाडेर एमाले प्रवेश गर्नु भएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले फेरि पनि त्यही पदमा चुनाव लड्ने लगभग पक्का नै देखिएको छ । यस्तै लोसपा छाडेर एमालेमा प्रवेश गर्ने घोषणा गरेर  अब  जसपामा प्रवेश गर्ने तयारीमा रहेका राजेशमान सिंहले पनि नगरप्रमुखमा चुनाव लड्ने निश्चित प्राय देखिन्छ ।

वीरगन्ज महानगरको नगरप्रमुखमा काँग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुङ्गो नलागे पनि पूर्व सांसद राजेन्द्र बहादुर अमात्य , प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्मा , पूर्व जिल्ला सचिव श्याम पटेल , पूर्वसभापति अजय द्धिवेदी मध्ये कसलाई उम्मेदवार बनाउने  विषयमा काँग्रेस भित्र गृहकार्य भइरहेको छ ।

पर्साको पोखरीया नगरपालिकाको नगर प्रमुखमा लोसपाका नेता निजामुदिन समानीले त विगत एक महिना देखि नै चुनावी घरदैलो अभियान गरिरहनु भएको छ । बहुदरमाइ नगरपालिकाको नगरप्रमुखमा काँग्रेसबाट निर्वाचित नितेन्द्र साहले फेरि त्यही पदमा चुनाव लड्ने बताउँदै आउनु भएको छ । तर काँग्रेसबाट युवा नेता राकेश यादवले पनि नगरप्रमुखमा आफ्नो दाबेदारी रहेको भन्दै  घरदैलो कार्यक्रम गर्दै आउनु भएको छ ।

लोसपा छाडेर एमालेमा प्रवेश गरेका शिव पटेलले पनि बहुदरमाइ नगरपालिकाको नगरप्रमुखमा चुनाव लड्ने गरी तयारी गरिरहनु भएको छ ।यस्तै समावेशी प्रतिनिधि झल्काउने गरी निर्वाचित भएका कतिपय जनप्रतिनिधिमा आगामी चुनावमा फेरि पनि प्रतिस्पर्धा गर्ने उत्कट चाहना देखिएको छ ।

महिलाको उपस्थितिलाई अरूले स्वीकार्न नचाहेको अनुभव भए पनि उनीहरूमा स्थानीय तहको प्रमुख भएर काम गर्न सकिने आत्मविश्वास भने पलाएको छ । पर्साको पोखरीया नगरपालिकाकी उप प्रमुख सलमा खातुनले उपप्रमुख  भएर काम गर्दा धेरै विषयमा जानकारी भइसकेकाले अब भने नगरप्रमुखमा आफ्नो दाबी रहने बताउनु भएको छ ।जनता समाजवादी पार्टीबाट चुनाव जित्न सफल खातुनले आगामी चुनावमा पनि सफलता पाउने दाबी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्