जुम्लाका सबै स्थानीय तहमा माओवादीले चुनाव जित्नुपर्छ : प्रदेश इन्चार्ज मल्ल



न्युज अफ नेपाल, जुम्ला ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले देश र जनताको रक्षाका लागि माओवादी केन्द्रले जुम्लाका सबै स्थानीय तहमा निर्वाचन जित्नुपर्ने बताएका छन् । उनले शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको राजनीतिक , वैचारिक, प्रशिक्षण तथा दुई महिने चुनावी अभियानको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।

मल्लले देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । माओवादीले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जनताको हक अधिकारको लागि जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले माओवादी अझै खतरामा रहेको बताए । उनले भने, ‘तर हार्ने छैनौँ । सबै ठाउँमा जित्ने छौँ ।’ त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर पाल्ने जनतामा जोड्ने गरी अबका अभियान थाल्न निर्देशन दिए । उनले भने, ‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्‍यौँ भने संविधान र गणतन्त्र नै हार्नेछ । जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।’

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिय रहेको बताए ‘माओवादी सर्वहारा वर्गको पार्टी हो । त्यसैले माओवादी केन्द्रको नेतृत्व जनतामुखी हुनुपर्छ ।’

माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाका अध्यक्ष तथा प्रदेश सहसचिव वीरबहादुर कुँवर (सुरेश पहाडीले) सिंहदरबारलाई गाउँ–गाउँमा पुर्‍याउन माओवादी केन्द्रको उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्