अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल



लमजुङ ।

कोरोना भाइरसको उच्च जोखिमका कारण लामो समयसम्म सुनसान बनेको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल शुरू भएको छ । पदयात्राका लागि उपयुक्त मौसम शुरू भएसँगै पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

पछिल्लो समयमा दैनिक २५/३० जनाभन्दा बढी बाह्य पर्यटकको आगमन हुन थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरबाट शुरु हुने अन्नपूर्ण पदमार्गमा केही वर्ष अघिसम्म यो सिजनमा पर्यटकहरुको आगमन उत्साहजनक हुने गर्दथ्यो । तर, हाल कोभिडको प्रभावसँगै पछिल्लो दुई वर्ष पर्यटक आगमन अत्यधिक कम भएको तथ्यांकले देखाएको छ । पर्यटक आगमनको मुख्य सिजन भए पनि कोभिड–१९ को जोखिम बढ्दै गएपछि पछिल्ला दुई वर्ष सरकारले नै विभिन्न देशका पर्यटक आगमनमा रोक लगाएको थियो ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्वरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राको पिक सिजनका रूपमा लिइन्छ । दुई वर्षसम्म सुनसान बनेको पदमार्गमा यस वर्ष पर्यटकको आगमन शुरु भएसँगै पदमार्गअन्तर्गतका व्यवसायी उत्साहित बनेका छन् । बाह्य पर्यटकको आगमनसँगै लमजुङ सदरमुकाम बेंसीशहरदेखि मनाङसम्मका होटल क्षेत्रको पर्यटन व्यवसाय चलायमान बन्न थालेको छ । पदमार्गअन्तर्गतका पर्यटकीय होटलहरुमा पर्यटकको आगमन शुरु भएसँगै व्यवसाय पनि चलायमान बनेको हो ।

कोभिड–१९ को प्रभाव र सरकारले जारी गरेको लकडाउनका कारण दुई वर्षसम्म पर्यटक नआएपछि पर्यटन व्यवसायीहरु ठूलो मारमा परेका थिए । आम्दानीका लागि पर्यटकीय सिजन पर्खेर बसेका व्यवसायी पर्यटक आउने मुख्य सिजनमै ढोका लगाएर बस्न बाध्य भएका थिए । पदमार्गअन्तर्गतका होटलसँगै दैनिक सयौँको संख्यामा पर्यटक ओसार्ने सवारीसाधनसमेत व्यावसायिक धरापमा परेका थिए ।

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पर्यटक आगमन ठप्प भएसँगै टानअन्तर्गत बेंसीशहरमा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सको कार्यालय पनि बन्द भएको छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै कार्यालय बन्द भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । टिम्ससँगै एक्यापले पनि आफ्नो सेवा केन्द्र घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्