पर्यटन प्रवर्द्धनका लागि कला, संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने एक गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनु भएको छ ।

फागु पूर्णिमा (होली पर्व) का अवसरमा आज ललितपुरमा ज्यापु समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले देश चिनाउने भनेको कला, संस्कृति भएकाले यसको संरक्षण तथा सम्बर्द्धन गर्न अति जरुरी रेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश, समाज र व्यक्ति चिनाउने भनेको कला र संस्कृति हो, यसको संरक्षण गर्नुपर्छ, संस्कृति मासिन दिनु हुँदैन ।” सोही अवसरमा बोल्नु हुँदै मन्त्री आलेले नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रबर्द्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिहरूलाई जोगाएर राख्नु पर्ने धारणा राख्नु भयो ।

कला, संस्कृति विना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अव युवा पुस्ताहरूले अघि बढ्नु पर्ने समेत मन्त्री आलेले आग्रह गर्नुभयो ।

उहाँले थप भन्नुभयो, “हाम्रा कला संस्कृतिहरूको संरक्षण र सम्बर्द्धनमा अब युवा पुस्ताले चासो देखाउन पर्छ, सबै मिलेर संस्कृतिको संरक्षण गर्नु पर्छ ।”

काला, संस्कृति तथा पर्यटन प्रबन्धनका क्षेत्रमा आफू स्वयम सहित सिङ्गो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लागि परेकाले उक्त कार्यमा सबैको सहयोग आवश्यक रहेको समेत मन्त्री आलेले आग्रह गर्नुभयो ।

आफ्नो बुवा भारतमा रेल्वे अफिसमा अफिसर भएका बेलामा आफू भारतमा पढेको र त्यहाँ आफूले हिन्दी, मराहीठी विषयमा अध्ययन गर्दा आफूले होली पर्वका विषयमा लेखेको कविता स्मरण गर्दै (होली आइ  होली आइ, ले अबिरकी झोली आइ, आज न कोही राजा रानी, आज न कोही पण्डित ज्ञानी, सब मिल्के हक जस्म मनाए) उक्त कविता समेत पढेर सुनाउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले पछिल्लो समय देशमा रहेका विभिन्न मठ मन्दिर, धर्मशाला लगायतका क्षेत्रमा केही निजी स्वार्थका व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गरी कमाइ खाने बाटो बनाएकाले त्यस्ता व्यक्ति र समूहलाई आफूले कुनै पनि हालतमा छुटकारा नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कला, संस्कृति लोप गर्ने अनि धार्मिक क्षेत्र, मठ मन्दिर र धर्मशालालाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउँछु । यो प्रेम आले हो, गलत गर्दिन र गलत गर्नेलाई जेलको हावा खुवाउँछु ।”

यसै गरी मन्त्री आलेले अघिल्लो सरकार (केपी वली)का पालामा कला, संस्कृति, मठ, मन्दिर तथा धर्मशाला मास्ने काम भएकाले ती मासिएका सबै चिज बस्तुहरू अहिले आफू फिर्ता ल्याउन लागि परेको समेत जानकारी दिनुभयो । पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणका लागि आफे सधैँ कटिबद्ध रहेको समेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो ।

यसै गरी मन्त्री आलेले नेपालबाट केही समय पहिले चोरी भएका मूर्तिहरू अमेरिका, बेलायत, फ्रान्स, इटाली लगायत देशबाट ल्याउने काम सुरु भएको र केही थान मूर्तिहरू फिर्ता आइसकेको समेत जानकारी दिनुभयो । यसै गरी मन्त्री आलेले कोरोना भाइरस (कोभिड–१९)का समयमा चार्टर्ड फ्लाइट गरी भ्रष्टाचार गर्नेहरूलाई कारबाहीका लागि कानुनी दायरामा ल्याउन पहल सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका समयमा विदेशमा रहेका नेपाली ल्याउन गरिएको चार्टर्ड फ्लाइटमा नागरिकको ढाड सेक्ने गरी भाडा लिई भ्रष्टाचार भएको छ, प्रमाण जुटाउने काम सुरु भएको छ, चाडै नै भ्रष्टाचारीहरूलाई कानुन बमोजिम कारबाही गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस्