जिल्लाकै ठूलो खानेपानी आयोजना : तीन वर्षमा तीन करोडको काम



पर्वत ।

पर्वतको शंकरपोखरीमा निर्माणाधीन जिल्लाकै ठुलो लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित २०७४ फागुन महीनाबाट शुरू भएको लमाए खोला बृहत् लिफ्ट खानेपानी आयोजनाले लक्ष्यअनुसार काम गर्न नसकेको हो ।

उक्त आयोजनाको कुल लागत १५ करोड रूपियाँ भए पनि उपभोक्ता समितिले तीन वर्षको अवधिमा जम्मा ३ करोड रूपियाँको मात्रै काम गरेको छ । आयोजनाले १ हजार ५० घरमा खानेपानीको धारा पुर्याउने लक्ष्य राखेको छ । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमार्फत आयोजनाको काम अगाडि बढेको हो ।

मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता नगरिदिँदा र पटकपटक डिजाइन परिवर्तन गरिदिँदा कामले गति लिन नसकेको उहाँको भनाइ छ । ‘कामअनुसार मन्त्रालयले खुरुखुरु भुक्तानी दिए समस्या हुने थिएन ।’, ‘उहाँले भन्नुभयो –‘मन्त्रालयमा सचिव र इन्जिनियर फेरिएपिच्छे आयोजनाको स्टिमेट फेरिदिने समस्या हुँदा काम गर्न कठिन भएको छ ।’

उपभोक्ता समितिका अनुसार लमाएखोलाबाट लिमीकोटसम्म १ हजार ५०० मिटर माथिसम्म पानी तानेर गाउँमा वितरण गर्ने लक्ष्य छ । लिमीकोटमा २ लाख लिटरको मुख्य रिजर्भवेयर टंकी, भूमेकोटमा १ लाख लिटर, थुमगाउँमा ६० हजार लिटर, भीरबारीमा ६० हजार लिटरको ट्यांकी निर्माण भइसकेको छ ।

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाको रूपमा रहेको यो आयोजनाको काम दुई वर्षमै सक्ने योजना अनुरूप तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका गर्नुभएको थियो । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बाहना नगरी काम सक्न पनि निर्देशन दिनुभएको छ ।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताएपछि उपभोक्ता समिति यही चैत महिनासम्ममा आयोजनाको काम सक्न तयार भएको छ । सिनियर डिभिजनल इन्जिनियर प्रेम डोटेलले उपभोक्ता समिति र ठेकेदार कम्पनीले जति सक्दो धेरै काम गरे बजेटको निकासामा मन्त्रालयले कुनै बाधा नपुर्याउने गरी निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको चुनाव अगाडि नै प्रदेश भरिका रुग्ण र अलपत्र परेका आयोजनाको काम सक्न ताकेता गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्