महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी



काठमाडौं ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।

स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न नसकिने दाबी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । गठबन्धनको शीर्ष तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जाने र नगरपालिका र गाउँपालिकामा भने त्यहाँको वस्तु अवस्था हेरेर निर्णय गर्न दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

यसैबीच, कांग्रेसले पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गरेर रिपोर्ट पेस गर्ने गरी फागुन २९ गतेबाट एक महिने चुनावी अभियान शुरू गरेको छ । केन्द्रबाट खटाएका ७७ केन्द्रीय प्रतिनिधिले जिल्लाको रिपोर्ट प्रस्तुत गरेपछि त्यसको आधारमा गठबन्धनमा अन्य दलसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा कांग्रेसले निर्णय लिने भएको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भन्नुभयो–‘गठबन्धन गरेर जाने सम्भावना कायमै छ । हाम्रो एकमहिने अभियान सम्पन्न भएपछि केन्द्रीय समितिको बैठक बसेर परिस्थितिको मूल्यांकन गरी अघि बढ्छौं ।’ उहाँका अनुसार सत्ता गठबन्धनमा आबद्ध दलहरूको बीचमा विभिन्न सम्भावनाको विषयमा अनौपचारिक रूपमा छलफल भने चली नै रहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सकेसम्म गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेर अघि बढने नीति लिनुभएको छ । गठबन्धन गर्ने वा नगर्ने विषयमा सत्ता गठबन्धनमा अन्य दललाई नचिढ्याउन पनि उहाँले पार्टीका नेतालाई निर्देशनसमेत दिँदै आउनुभएको छ ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रले पनि चुनाव केन्द्रित भेला तथा प्रशिक्षण कार्यक्रम अघि बढाएको छ । विगतको विरासत जोगाउने चुनौतीको सामना गरिरहेको माओवादीले नगरपालिका र गाउँपालिकामा आ–आफ्नै ढंगले लड्ने तर महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर जानुपर्नेमा जोड दिँदै आएको छ ।

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा पार्टीभित्र र सत्ता साझेदार दलहरूसँग विभिन्न कोणबाट छलफल भइरहेको जानकारी दिँदै माओवादीका नेता हरिबोल गजुरेलले भन्नुभयो– ‘स्थानीय तहको वस्तुस्थितिका बारेमा हामीले देशव्यापी रूपमा अभियान सञ्चालन गरिरहेका छौं । गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेलको विषयमा एउटा सहमति बन्छ ।’

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दल एकीकृत समाजवादी पार्टीले पनि चुनावमा गठबन्धन बनाएरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएको छ । नयाँ पार्टी भएकाले सबै स्थानीय तहमा संगठन विस्तारमै केन्द्रित भएकाले स्थानीय तहको निर्वाचनमा सकेसम्म अन्य दलको साथ लिएरै प्रतिस्पर्धामा उत्रने नीति लिएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य होम बुढाथोकीले गठबन्धनमा आबद्ध दलबीच चुनावी गठबन्धन गरेरै जानुपर्नेमा जोड दिँदै भन्नुभयो–‘स्थानीय तहको अवस्थाको बारेमा वस्तुनिष्ठ रूपमा विश्लेषण गरेर चुनावी गठबन्धन गरेर जानु नै सत्ता साझेदार दलको हितमा छ ।’

सत्ता साझादार दल जनता समाजवादी पार्टीले पनि स्थानीय तहको निर्वाचनमा विगतको विरासत कायमै राख्ने गरी अभियान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आवश्यक भएकोमा जोड दिएको छ । जसपाका नेता एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भन्नुभयो– ‘जहाँजहाँ जित्न सकिन्छ, एक्लाएक्लै लडेर जित्ने जहाँ गठबन्धनको उपस्थिति अलि कमजोर छ, सत्ता साझेदारबीच गठबन्धन कामय गरेर जानुपर्छ ।’

गठबन्धनलाई पराजित गर्न एमाले काफी : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लैले पराजित गर्ने दाबी गर्नुभएको छ । उहाँले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने दाबी गर्नुभयो ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन । यी स–साना समूह हुन् । अरू एकातिर हुँदा हामी बढी हुन्छौं ।’

गठबन्धन एकातिर भएकाले चुनाव लड्न गाह्रो हुन्छ भनेर नतर्सिन कार्यकर्तालाई आश्वास्त पार्दै उहाँले आफ्नो सरकारले गरेका कामहरू लिएर जनतामाझ जान आग्रह गर्नुभयो । ओलीले एमाले प्रतिपक्षमा भए पनि सत्तारूढ दलका जनप्रतिनिधिदेखि नेता कार्यकर्तासम्म एमालेमा प्रवेश गर्न ओइरो लागेको दाबी गर्दै भन्नुभयो– ‘हामी प्रतिपक्षमा छौं, तर सत्ताधारी दलका नेता कार्यकर्ता हाम्रोतिर आइरहेका छन् । हामी निश्चित रूपमा चुनाव जित्छौँ । हामीसँग सही नीति छ, जनताले एमालेलाई सरकारमा ल्याउन चाहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्