पूर्वी नेपालका मौलिक लोकभाकाहरू प्रकाशित



काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘पूर्वी नेपालका लोकभाकाहरू’ कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको प्रदेश नं एकमा पर्ने १४ ओटा जिल्लामा रहेका सम्पूर्ण जातजातिहरूमा प्रचलित १५५ ओटा मौलिक लोकभाकाहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । लोकसाहित्य र संस्कृतिका अन्वेषक दिलेन्द्र मुकारुङ राईको सङ्कलन, लेखन तथा सम्पादनमा तयार भएको यस कृतिमा पूर्वी नेपालको लोकजीवन, लोकसंस्कृति र त्यससँग सम्बन्धित मौलिक लोकभाकाहरूका बारेमा विस्तृत जानकारी दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले लोकगीत, लोकसङ्गीत वा लोकभाकाहरूप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । पाँच भागमा विभाजित प्रस्तुत कृतिको पहिलो भागमा पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय दिइएको छ भने दोस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूका सम्बन्धमा भएका पूर्वकार्यहरूका बारेमा विस्तृत खोज तथा अनुसन्धानात्मक सामग्री प्रस्तुत गरिएको छ ।

तेस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूको उदाहरणसहित प्रवृत्तिगत विश्लेषणसमेत गरिएको छ । यस क्रममा राई, लिम्बू, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, गुरुङ, नेवार, धिमाल, थारू, दर्जी, खसआर्यलगायतका जाति तथा लोकसंस्कृति र जीवनपद्धतिसँग जोडिएका मौलिक लोकभाकाहरूका साथै अरुण उपत्यकाले उत्पादन गरेका लोकभाकाहरू र देशभक्ति तथा सामाजिक जागरणमा आधारित लोकभाकाहरू पनि सन्दर्भ र स्रोतसहित प्रस्तुत गरिएका छन् । चौथो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूमा समेटिएका विशेषताहरूको समालोचनात्मक चर्चा गरिएको छ भने पाँचौँ भागमा सम्बन्धित अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको कुराको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको संयोजनमा यसभन्दा अगाडि नै लोकवार्ताअन्तर्गत ‘लोकसाहित्य सिद्धान्त’, ‘प्रज्ञा नेपाली लोककथा’ ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’, ‘नेपाली लोकविश्वास’ तथा बालसाहित्यअन्तर्गत ‘प्रज्ञा नेपाली बालकथा’, ‘प्रज्ञा नेपाली बालगजल’, ‘युगकवि सिद्धिचरणका बालकविता’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन भइसकेका छन् भने ‘लोकवार्ताकोश’, ‘प्रज्ञा नेपाली लोकनाटक’, ‘नेपाली बालसाहित्यको इतिहास’ जस्ता कृतिहरूको प्रकाशनका लागि अन्तिम सम्पादन कार्य भइरहेको जानकारी प्राज्ञ नेपालले दिनुभएको छ ।

समग्र नेपालको लोकजीवनमा लुकेर बसेका अपार सम्पदाहरूको खोजी गरी कृतिका रूपमा प्रकाशन गर्ने उद्देश्यस्वरूप तयार भएको प्रस्तुत कृतिमा प्रदेश नं एकका हिमाल, पहाड र मधेस तीनओटै क्षेत्रका सम्पूर्ण जातजातिहरूका मौलिक लोकभाकाहरू समेटिएका छन् । जम्मा १९६ पृष्ठ र २३० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने कुराको जानकारी प्राज्ञ सभा सदस्य, सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्