ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध



 

ललितपुर ।

ललितपुर महानगरपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ललितपुरको हरिसिद्धिको १२ वर्षे मेलामा भीमेश्वरबाट नाच देखाउँदै हरिसिद्धि लगिने अध्ययनहरूमा उल्लेख भएको पाइन्छ । यसका साथै यी दुई नगरपालिकाबीच सांस्कृतिक समानता रहेको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यो सम्बन्ध काम भएपछि दुई नगरपालिकाबीचको घनिष्ठताले थप उचाइ लिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अबदेखि हामी मित भयौं, अब दुःख, सुखका साथी हौं ।’ महानगर प्रमुख महर्जनले संस्कृतिक संरक्षण, विकास निर्माणका गतिविधिलगायतका विषयमा भीमेश्वर नगरपालिकासँग अनुभव साट्ने बताउनुभयो । उहाँले भीमेश्वर नगरपालिकाको विकासका लागि महानगरले बजेटसमेत विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन, सहरलाई सफा र सुन्दर राख्न गरेका कामलाई अनुसरण गर्ने बताउनुभयो ।

उपप्रमुख कमला बस्नेतले ललितपुर महानगरसँग भगिनी सम्बन्ध गाँस्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यो सम्बन्धले ललितपुर महानगरले गरेका कामलाई अनुसरण गर्दै अनुभव आदानप्रदान गर्न सजिलो भएको बताउनुभयो । प्रतिनिधिसभा सांसद पार्वत गुरुङले भीमेश्वर नगरपालिकाले ललितपुर महानगरसँग यहाँको धार्मिक र ऐतिहासिक क्षेत्रहरूको विकासका लागि सहकार्य गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ललितपुरले यी क्षेत्रमा धेरै काम गरेको छ, त्यो अनुभव भीमेश्वरको लागि नयाँ र महत्वपूर्ण हुन सक्छ । ’
कार्यक्रममा भीमेश्वर नगरपालिकाले प्रकाशित गरेको संघीयता र स्थानीय विकास र जनप्रतिनिधिका पाँच वर्ष नामक पुस्तक सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्