रोयल्टी कसरी पाइन्छ नै थाहा छैन : निशा देशार



जमाना खराब छ, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, तिमी कुन जमानामा छौ, अभिनय तिम्रो मैले बुझिन, लत लाग्यो, म गीत गाउँदिन, पिरतीको अभावले बिग्रिएँ म, बिरालो पनि शेर हुन्छ सराब पिएपछि, साउनको ठूलो झरी, ह्याप्पी तिज, पाउ हजुरकोजस्ता यस्ता थुप्रै गीत र गीत गजल छन् गायिका निशा देशारलाई चिनाउने। करिब साँढे चार सय आधुनिक, राष्ट्रिय, तीज, फिल्मी गीत तथा गजलका साथमा नेवारी भाषाका दर्जनौं गीतमा समेत सुमधुर स्वर दिएकी निशा यिनै गीतमार्फत दर्शक श्रोताको मनमा बस्न सफल भएकी छन्। करिब दुई दशक लामो संगीत यात्राका क्रममा निशाले लोकार्पण, शराब, निशा आनन्द, अन्तरा तथा नेपाल भाषाको निशासहित पाँच गीति अडियो एल्बम सार्वजनिक गरेकी छन् भने गीत गायन कलाबाटै दर्जनौं अवार्ड र सम्मानलाई आफ्नो बनाउन सफल भएकी छन्। उनै गायिका देशारसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
केही गीत संगीतका काम भइरहेका छन्। करिब दुई दशकदेखि संगीत क्षेत्रमै रहेकोले यही विषय किन नपढ्ने त भनेर अहिले संगीत विषय लिएर ललितकला क्याम्पसमा ब्याचलरमा अध्ययन पनि गरिरहेको छु।

संगीत क्षेत्रमा प्रवेश गर्न कतिको गाह्रो भयो?
मेरो घर–परिवारमा सांगीतिक माहोल भएको कारणले संगीत क्षेत्रमा प्रवेश गर्न मलाईचाहिँ सजिलो भयो। मेरो बुबा पनि गाउने बजाउने गर्नुहुन्थ्यो, काका प्रेमबहादुर देसार पनि रेडियो नेपालमा गाउने संगीत गर्ने गर्नुहुन्थ्यो। उहाँले संगीत गरेका र गाउनुभएका दर्जनौं गीतहरू रेडियो नेपालमा छन्। उहाँले नै मलाई सारेगम सिकाउनुहुन्थ्यो। तर, स्वास्थ्य समस्याका कारण उहाँको ३० वर्षकै उमेरमा निधन भएपछि मेरो बाल मस्तिष्कमा नराम्रो प्रभाव पार्यो। त्यही बेलादेखि नै म सेन्टिमेन्टल गीत मात्र सुन्न थालेँ र त्यस्तो गीत मात्र मन पराउँथे। अरू रमाइला गीत त गीत नै होइन भन्ने लाग्थ्यो। पहिलो गीत पनि नेवारी भाषामा रुने किसिमको नै गाएको थिएँ। नेवारी कार्यक्रममा त्यही गीत बजिरहन्थ्यो। धेरैले मन पराउनुभयो र त्यस्तै खालका नेवारी गीतको अफर आउन थाल्यो। एकपटक रमाइलो खालको गीत पनि गाएको थिएँ। त्यो गीत पनि मन पराउनुभयो। अहिले सबै प्रकारका गीत गाउँदै आएकी छु्।

कुन विधाको गीत गाउन सजिलो लाग्छ?
मलाई गाउन सजिलो र आनन्द लाग्ने विधा गजल हो। गजल सिद्धान्तअनुसार कम्पोज गरिने र गाइने भएकाले आनन्द लाग्छ। सुन्नेले पनि गजल आनन्द लिएर सुन्छन्।

संगीत क्षेत्रमा टिकिरहन के–कस्ता कुराको आवश्यकता पर्ने रहेछ?
सबैभन्दा पहिलो कुरा त आफ्नो प्रतिभा चिन्न सक्नुपर्छ र आफूमा प्रतिभा छ छैन थाहा पाउनुपर्छ। त्यसपछि साधना र गायनमा निरन्तरता दिइरहनुपर्छ। साथै आफूमा अनुशासन पनि हुनुपर्छ। आज आएर भोलि हराउने हो भने त छुट्टै कुरा, तर संगीत क्षेत्रमै आफ्नो करिअर बनाउँछु भनेर लाग्ने हो भने कला क्षेत्रमा निकै मेहनत गर्नुपर्छ।

गीत गाएर मात्र जीवन धान्न सकिन्छ?
अहिले केही कलाकार छन्, जसले गीत गाएर नै घर बनाउने, गाडी किन्ने गरिरहेका छन्। सबैको त्यस्तै स्थिति नभए पनि निरन्तरता दिइरहेका कलाकारलाई जीवन धान्न गाह्रो छैन।

एकातिर वर्षौंदेखि साधना गर्दै आएका कलाकारहरूचाहिँ पछाडि परिरहेका हुन्छन्, तर भर्खरै संगीत नसिकी आएका गायक–गायिका चर्चामा आइरहेका हुन्छन्। कमाइका हिसाबले पनि नयाँ पुस्ता अगाडि भएको पाइन्छ, यस्तो किन भएको होला?
मैले पनि २०५७ सालमा संगीत सिकेर २०५८ सालमा गीत रेकर्ड शुरु गरेको हुँ। रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेको मैले अहिलेसम्म संगीत सिकाइलाई निरन्तरता दिइरहेकी छु। तर, भर्खरै आएका कलाकार जस्तो कमाइ र व्यस्ततामा म पनि पुग्न सकिरहेकी छैन। अहिले युट्युबको कारणले पनि गीत गाउनासाथ भाइरल हुने र त्यस्तै गीत पस्कने चलन छ। दर्शकले पनि जस्तो खालको गीत–संगीत बढी मात्रामा पस्क्यो, त्यही खालका गीत संगीत सुन्छन्। अहिलेको अवस्थामा एउटा गीत रेकर्ड गराउन लाखौँ रुपियाँ खर्च हुन्छ।

दशौं वर्षदेखि संगीत सिक्दै आएकाहरूसँग गीत रेकर्ड गराउन भनेको बेला पैसा नहुन सक्छ। तर, पैसा भएका कलाकारले तुरुन्तै गीत रेकर्ड गराएर, प्रमोसनमा लाखौं खर्च गर्न सक्छन्। अर्को कुरा जमानाअनुसार पनि हुन्छ। त्यस्तै, खालका गीत चले, त्यस्तै खालका गीत ल्याउने पनि गरिन्छ र मेला महोत्सवमा पनि त्यस्तै खालका कलाकारले स्थान पाउने गरेका छन्। म संगीत सिकेर आएको हुनाले चलाउनको लागि र भाइरल हुनको लागि जस्तो पायो त्यस्तै गीत गाउन मन लाग्दैन। तर, भाइरल हुने खालको गीत गाऊँ भन्ने हो भने नसक्नेचाहिँ होइन। यसरी हेर्दा वर्षांैदेखि संगीत सिक्दै गरेका कलाकार पछाडि छन् र पीडामा छन्।

हुन त मेला महोत्सव आयोजकले संस्कृतिको उत्थानका लागि कार्यक्रम गरेको भन्दै त्यस्ता कलाकारलाई नै ल्याउने गरेको पाइन्छ। तर, वास्तविकतामा अर्कै कुरा दिइरहनुभएको हुन्छ। राम्रा कलाकार र राम्रा गीतलाई अघि ल्याउने हो भने उनीहरूलाई पनि मेला महोत्सवमा सम्झनुपर्छ। मेला महोत्सवमा बच्चादेखि बुढापाकासम्मका दर्शक आउँछन्। बच्चाहरूलाई पनि राम्रा गीत–संगीत सुनाउनुपर्छ भने बुढापाकालाई पनि अहिलेको जमानामा पनि यति राम्रो खालको गीत संगीत बन्दो रहेछ है भन्ने अनुभव गराउन सक्नुपर्छ।

कमाइको हिसाबले एल्बमको जमाना ठीक कि युट्युबको?
पहिला सीडीको जमाना थियो। मैले सीडी निकाल्दाखेरि आफूले गरेको लगानी उठाएर पनि अरू कमाइ हुन्थ्यो। आफ्नो लगानी उठ्यो भनेर खुसी लाग्थ्यो। तर, अहिले युट्युबबाट मैले कमाएको छैन। युट्युबबारे थाहा पनि छैन।

अहिले रोयल्टीको कुरा पनि आइरहेको छ, तपाईंले पनि पाइरहनुभएको छ?
हुन त मैले धेरै गीत गाएकी छु। विभिन्न युट्युब च्यानलमा राखिएका छन्। तर, अहिलेसम्म एक पैसा पनि पाएको छैन। ४/५ जना गायक–गायिकालाई रोयल्टी वितरण गरेको देखेको छु। ती गायक गायिकाले मात्र रोयल्टी पाउने हुन् कि? रोयल्टी कसरी पाइन्छ थाहा पनि छैन। आफूले नखोजेको कारणले हो कि कसैले पनि रोयल्टीबापत रकम दिएका पनि छैनन्।

अहिलेको संगीत क्षेत्रलाई कसरी हेर्नुभएको छ?
हरेक समयमा राम्रो–नराम्रो भन्ने कुरा भइरहन्छन्। अहिले राम्रो पनि छ, नराम्रो पनि छ। अहिले गीत सुन्नेभन्दा पनि हेर्ने चलन छ। गीत हेर्ने चलन भएकोले हामीले के गर्ने भन्ने अन्योल पनि लाग्छ। तर, बेला–बेलामा डाक्टर, वकिल, इन्जिनियर आदिको कार्यक्रमलगायत स्कुल कलेजका कार्यक्रममा गीत गाउन बोलाइरहनु हुन्छ। त्यस्ता भव्य, सभ्य र शान्त किसिमका कार्यक्रममा गीत गाउन निमन्त्रणा गर्दा गर्व लाग्छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?
भन्ने कुरा त धेरै छन्, जुन भनेर सकिँदैन पनि। तर, अहिले मनमा खट्केको कुरा भनेको रोयल्टीको बारेमा धेरै गायक–गायिका जानकारी छैन र म जस्तै धेरैले रोयल्टी लिन पाएका छैनन्। रोयल्टी पाइने हो भने हो भने हामीलाई पनि खबर होस्। अर्को कुरा अहिले मेला–महोत्सवमा वर्षौंदेखि निरन्तर दिइरहेका गायकगायिका कलाकारलाई भन्दा पनि नयाँ आएका र भाइरल कलाकारलाई स्थान दिने गरेको पाइन्छ। पुराना कलाकारलाई पनि प्रस्तुत गरेर सांस्कृतिक कुरा प्रस्तुत गर्दा राम्रो हुन्छ। मिडिया पनि भाइरल कलाकारको पछि दौडने गरेको पाइन्छ। यस्ता कुराहरूले नयाँ पुस्ता र बालबालिकामा नेपाली कला क्षेत्र तथा संस्कृतिबारे कस्तो सन्देश जान्छ भन्ने चिन्ता लाग्छ।

प्रतिक्रिया दिनुहोस्