इटालीमा नेपाल चिनाउन हिँडेका ‘कार्लो माम्बेर्टो’



विष्णु रैगाईं, काठमाडौं । 

‘फिनाले’ भन्ने बित्तिकै तपाईंले ठ्याक्कै के सम्झिनुभयो ? पक्कै कुनै खेल वा कुनै ‘रियालिटी शो’को ‘ग्राण्ड फिनाले’ भन्ने बुझ्नुभयो होला होइन ? तर यहाँ चर्चा गरिएको फिनाले न कुनै अन्तिम खेल हो न त कुनै रियालिटी शोको  ग्राण्ड फिनाले ।

फिनाले अथार्त् इटालीको एक सुन्दर पर्यटकीय नगरी । फिनाले एक सुन्दर शहर, जहाँ वर्षेनी लाखौँ पर्यटक ओइरिन्छन् । नेपालजस्तै चट्टानयुक्त अग्ला पहाडहरू भएको फिनालेमा पर्यटकहरू ट्रेकिङ गर्न मन पराउँछन्, त्यहाँ बाइकिङ ट्रेलहरू छन्, रक क्वाइम्बिङ गर्न सकिन्छ ।

सुमुद्री सतहसँग जोडिएको भूभाग समेत भएकाले त्यहाँ कोही  डुङ्गा खियाउन, पौडी खेल्न, स्नोर्कलिंग र सनबाथिङ गर्न आउँछन् र रातको समयमा समुद्री तटमा रहेका डिस्कोहरूमा रमाइलो गर्छन् । त्यही सुन्दर शहरका कार्लो माम्बेर्टो नेपालमा छन् । उनी नेपाल आएको झण्डै १४ वर्ष बितेछ । उनी नेपालमै छन् ।

‘म यहाँ आउँदा ३० वर्षको थिए । जवान थिएँ, धेरै जोसिलो थिएँ ।,’ उनी हाँस्दै भन्छन्, ‘अहिले ४४ वर्षको भइसक नेपालमै छु । यहाँको पर्यटन र सामाजिक क्षेत्रमा केही गरिरहेको छु । केही गर्ने कोसिस गर्दैछु । यतै रमाइलो लाग्छ ।’

शुक्रबार साँझ ठमेलस्थित एक होटलमा नेपालको पर्यटन क्षेत्रमा कलम चलाइहेका पत्रकारहरूसँग गफिँदै थिए उनी । उनी बेला बेला मक्ख हुँदै उठ्थे आफ्नो कथा सुनाउँथे । फेरि थामिन्थे यो क्रम केही बेर चल्यो । उनी बहिरा आमाबाबुबाट जन्मेका सन्तान हुन् । बुबा आमा बोल्न र सुन्न नसक्ने भए पनि उनी भने बोल्न र सुन्न सक्छन् ।

लक्का जवानीमा नेपाल छिरेका माम्बेर्टो पर्यटकीय नगरी फिनालेका बासिन्दा । उनी घुम्दै जाँदा नेपालको मोहनीमा लट्टिए । आफूले नेपालमा पर्यटनको अथाह सम्भावना देखेको उनी सुनाउँछन्।  ‘नेपाल एक जादुमयी देश हो । यहाँ सब थोक छ । यहाँको पर्यटन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्छ,’ उनी  भन्छन् ।

उनले नेपालमा रहेर रक क्लाइम्बिङ, हिउँमा चिप्लेटी खेल्ने ‘स्की’ लगायतका साहसिक खेलको सम्भावना खोजी गरे । उनले शुरू गरेको रक क्लाइम्बिङ नगरकोटमा सञ्चालन भइरहेको सुनाए । उनले नेपालमा त्यस्ता साहसिक काम गराउने मात्र होइन नेपालीलाई समेत सिकाएर दक्ष बनाउने गरेका छन् ।

उनी नेपालबारे इटालीमा थप प्रचार प्रसार गर्न चाहन्छन् । वार्षिक हजारौं इटालियन पर्यटकलाई नेपाल भित्र्याउन चाहन्छन् । हालसम्म हजारौं इटालियन पर्यटकलाई नेपाल भ्रमण गराइसकेका कार्लोको अबको योजना पनि नेपालमा इटालियन पर्यटक भित्र्याउन सहयोग गर्ने नै हो ।

उनी हाल ‘फिनाले फर नेपाल’ अथात् नेपालका लागि फिनाले नाम संस्थामार्फत थुप्रै सामाजिक कार्य समेत गर्दै आएका छन् । उनी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेदेखि पर्यटकीय क्षेत्रको फोहोर संकलन गर्ने लगायतका अभियान चलाउँछन् ।

कोरोना महामारीको समयमा नेपालमा हजारौँ व्यक्तिलाई निःशुल्क खाना खुवाएका कार्लो यहाँका छाडा कुकुरलाई उद्धार गरी इटली पठाउने काम समेत गर्छन् । उनी भन्छन्, ‘म प्रकृतिप्रेमी व्यक्ति हुँ । नेपाल र नेपालीका लागि म जीवन पर्यन्त लागि रहन्छु ।’ उनले हालसम्म हजारौँ इटालियनहरूलाई नेपाल भ्रमण गराइसकेका छन् ।

अझ रोचक कुरा त के छ भने उनले युरोपभरका बहिरा र बोल्न नसक्ने व्यक्तिहरूलाई समेत नेपाल भ्रमण गराएका रहेछन् ।कार्लोसँग सहकार्य गरिरहेका नेपाली पर्यटन व्यवसायी अच्युत गुरूङका अनुसार यो उमेरमा पनि कार्लो एक्लै छन् । ठट्टा गर्दै गुरूङ भन्छन्, ‘कार्लोलाई नेपालको मायाले यसरी तानेको छ । उनले आफ्नो सब थोक नेपाललाई ठाने । उनलाई नेपालको मायाले यसरी तानेको छ कि उनले कुनै प्रेमिका समेत बनाउने फुर्सद् पाएनन् ।’

कार्लो व्यक्तिगत रूपमा आफूले गरेको कामको कुनै प्रचार चाहँदैनन् । चुपचाप सेवा गर्छन्, हिँड्छन् । उनको यही बानीका कारण नेपालमा यति धेरै सामाजिक कार्य गरेर पनि गुमनाम बनेको व्यवसायी गुरूङ बताउँछन् । उनी भन्छन्, ‘कुनै विदेशीले यसरी नेपाललाई चिनाउन अहोरात्र खटिरहेको छ । यस्ता व्यक्तिलाई राज्यले चिन्नुपर्छ । उनलाई पर्यटन दूत बनाएर विश्वभर नेपालको पर्यटनबारे थप प्रचारप्रसार गर्न आवश्यक छ ।’
पर्यटन क्षेत्रमा सक्रिय यस्ता व्यक्तिहरू साथमा लिएर हिँड्न सके कोरोना महामारीका कारण थिलथिलो बनेको नेपाली पर्यटन व्यवसायलाई उकास्न सरकारलाई राहत पुग्ने अर्का व्यवसायी टीकाराम नेपाली बताउँछन् ।

नेपालको पर्यटनसम्बन्धीको कानून र पर्यटकीय क्षेत्रहरूको व्यवस्थापनबारे सरकारले गम्भीर बन्नुपर्ने उनकाे भनाइ छ । ‘विदेशी पर्यटकलाई महँगो शुल्क तोकिएको छ ।  तर सो क्षेत्रमा उनीहरूको सुरक्षा र सुविधाका लागि पनि सरकारले पहल गर्नुपर्छ । साथै नेपाली पर्यटन मजदूरका बारेमा समेत सरकार गम्भीर बन्नुपर्छ ।’, उनी भन्छन् ।

‘सस्टेनेबल टुरिजम’को माध्यमबाट नेपालको पर्यटन क्षेत्र उकास्नेबारे नीतिगत रूपमै सरकारको सहयोगको अपेक्षा रहेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्