भाइले दिए पल्पसाका लागि मिर्गौला



लोकप्रिय हास्यअभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्यारोपण सफलरूपमा सम्पन्न भएको छ। उनको भाइ अज्जु डंगोलले आफ्नो एक मिर्गौला दिएपछि बुधबार महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। नेपालको प्रचिलत कानुनअनुसार प्रत्यारोपणका लागि नजिकको आफन्तले मात्र मिर्गौला दान गर्न सक्ने भएकाले उनको भाइले आफ्नो मिर्गौला दिएका थिए।

प्रा.डा. दिव्या सिंहको नेतृत्वमा प्रा.डा. उत्तम कुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा.डा. पवन बस्याल, प्रा.डा. भोजराज लुइँटेललगायतका चिकित्सकको टिमले करिब पाँच घण्टा लगाएर पल्पसाको शरीरमा मृगौला प्रत्यारोपण गरेको थियो। पल्पसाको उपचारका लागि शुरूदेखि नै डा. सौरभ सिंह हमालले समन्वय गरेको उनकी अभिन्न मित्र विद्या बज्राचार्यले जानकारी गराइन्। सफल प्रत्यारोपणपछि पल्पसाले केही दिन अस्पतालको आईसीयूमा बिताउनुपर्ने चिकित्सकले जनाएका छन्। त्यसैगरी उनको भाइले पनि केही दिन अस्पतालमा रहनुपर्नेछ।

पल्पसाको मिर्गौला प्रत्यारोपणका लागि मंगलबार र बुधबार अस्पतालमै रहेर नेपाल चलचित्र कलाकार संघबाट आफ्नो नेतृत्वमा समन्वयको काम गरेको अध्यक्ष रवीन्द्र खडकाले जानकारी गराएका छन्।

अभिनेत्री पल्पसाको उपचारका लागि अभिनेत्री वसुन्धरा भुसालको संयोजकत्वमा रहेको चलचित्र विकाश बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले संघको सिफारिसमा उपचार सहयोगका लागि दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्