प्रदेशकै बाख्राको स्रोत बन्दै चित्लाङ फार्म



हेटौंडा ।

उत्तरी मकवानपुरमा रहेको देशकै प्रसिद्ध चित्लाङस्थित बाख्रा विकास फार्मले ७८ औं फार्म दिवस मनाइरहँदा उक्त फार्म वागमती प्रदेशकै लागि स्रोतकेन्द्र बनेको छ । २००१ मा सरकारले भेंडा विकास फार्मका रूपमा स्थापना गरेको फार्मले प्रदेशवासीलाई सहयोग गर्दै आएको छ ।

प्रदेशकै एकमात्र बाख्रा विकास फार्म प्रदेशकै बाख्रा उत्पादनको स्रोतका रूपमा रहेको कार्यक्रमका वक्ताले बताए । पर्यटकीय क्षेत्रमा रहेको फार्मले विभिन्न चुनौतीबीच गरेको प्रगतिबारे चर्चा गरिएको थियो ।वागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागार्इंको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रदेशका कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङको विशेष आतिथ्यता थियो ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डा.मोगलप्रसाद शाह, पूर्वफार्म प्रबन्धक मेघराज ढकाललगायतको आतिथ्यता थियो । कार्यक्रममा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा गठित कृषक समूहका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र किसानको उल्लेख्य सहभागिता थियो ।

बाख्रालाई स्विमिङ पुल
सरकारी तवरबाट चित्लाङमा सञ्चालित फार्ममा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न स्विमिङ पुल बनाइएको छ । उक्त स्विमिङ पुलमा त्यहाँका बाख्रा, बोका र पाठापाठीलाई वर्षमा ३ पटक स्विमिङ खेलाउन गरिन्छ । ती चौपायाका शरीरबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरकफरक औषधीमिश्रित पानी राखिने स्वीमिङ पुलमा बाख्रा र बोकाहरूलाई चुर्लुम्म डुबाउने गरिएको हो ।

यसो गर्दा चौपायाहरूमा भएका बाह्य परजीवी हट्छन् । प्रत्येक वर्ष साउन, मंसिर र चैतमा यस प्रकारको उपायस्वरूप ‘डिपिङ’ गर्ने गरिएको छ । डिपिङ गर्ने उक्त स्थानलाई डिपिङ ट्यांक भनिन्छ । उक्त ट्यांक झट्ट हेर्दा मानिसले प्रयोग गर्ने स्विमिङ पुलझैं देखिन्छ । यसरी डिपिङ गर्दा बाह्य परजीवीको सहन क्षमता न्यून गर्ने उद्देश्यले फरक प्रकारका औषधि मिश्रित पानी प्रयोग गर्ने गरिएको छ ।

महिनाअनुसार मालाथिन, नोभान र लाइजटिक औषधि पानीमा घोलेर डिपिङ ट्यांकमा चौपायालाई पालैपालो डुबाइने गरिन्छ । फार्ममा रहेको कम्तीमा ६ मिटर लम्बाइको ट्यांक पार गरेपछि मात्र चौपायाहरू बाहिर निस्किन सक्छन् ।

यो ट्यांक स्विमिङ पुलजस्तै हुन्छ । प्रभावकारी औषधि प्रयोग गरी डिपिङ गरिने हुँदा चौपायामा रहेका बाह्य परजीवी नष्ट हुन्छन् । डिपिङ गरेपछि चौपायाहरू मानसिक र शारीरिक तनावमा रहने भएकाले उनीहरूलाई कम्तीमा एक साता तनावमुक्त अवस्थामा राख्ने गरिन्छ । त्यसपछि जुका र नाम्लेजस्ता आन्तरिक परजीवी हटाउन औषधि खुवाउने गरिन्छ । जसलाई प्राविधिक भाषामा ‘ड्रेन्चिङ’ भनिन्छ ।

राजा वीरेन्द्रको ट्याग
तीनसय ५ रोपनी चौरमा फैलिएको फार्म २००१ सालमा स्थापना हुँदा सरकारले भेडा फार्म नामाकरण गरेको थियो । कृषकलाई भेडापालनतर्फ आकर्षित गराउने उद्देश्यले आफैं फार्म पुग्नुभएका तत्कालीन राजा वीरेन्द्रले भेंडाको कानमा ट्याग झुण्ड्याउनुभएको थियो । फार्मले स्थानीय खरिजातका बोका किनेर सान्दनको बोकाबाट क्रस उत्पादन गरी किसानलाई बिक्री गर्दै आएको छ ।

हाल युवा स्वरोजगार कार्यक्रमअन्तर्गत नजिक काठमाडौंका युवापुस्ता बाख्रापालनतर्फ आकर्षित भइरहेका छन् । दरबन्दी र स्रोतसाधन कमीका कारण तिनै युवाको स्वरोजगार हुने चाहना पूरा गर्न नसकिएकोप्रति फार्मले चिन्ता व्यक्त गरेको छ । सरकारले २०५८ सालमा फार्मलाई बाख्रा विकास स्रोतकेन्द्र बनाउने लक्ष्यसाथ नीतिगत पाइला अघि बढाएको हो ।

जनशक्ति कम भए पनि खसीबाख्राका लागि आवश्यक घाँस फारम आफैंले उत्पादन गर्दै आएको छ । तीन हेक्टर जमिनमा जै घाँस रोपिएकोले केही सहजता आउनेमा विश्वस्त हुन सकिन्छ । युवाहरू उन्नत जातका बाख्रापालन गरेर आर्थिक लाभ लिनेतर्फ आकर्षित भइरहेको बेलामा दरबन्दी रित्तो बनाएर कर्मचारी सरुवा गरिदिने तर, नयाँ कर्मचारीको पदपूर्ति भने नगर्ने सरकारी नीतिबाट फार्म अछुतो रहन सकेन ।

निकै रमणीय पिकनिक स्पट र चलचित्र छायांकन स्थलसमेत बनिरहेको उक्त क्षेत्र देशकै एकमात्र मानवनिर्मित इन्द्रसरोवरनजिक र थानकोट चन्द्रागिरि हुँदै करिब २० किलोमिटर यात्रापछि पुग्न सकिन्छ । पिकनिक मनाउन जानेहरूको थेगिनसक्नु भीड हुने गर्दछ । पर्यटन प्रवर्धनका लागि त्यहाँ अतिथि गृहसमेत बनाइएको छ । करिब २० जना क्षमता रहेको गृहमा निकै सस्तो दररेटमा आवास सुविधा उपलब्ध छ ।

बल्ल पानी
चरिचरन क्षेत्रमा पानीको अभावले हिउँदमा खडेरी लाग्ने गरेको फार्ममा खडेरी हटाउन बल्ल पानी पाएको छ । फार्मले सरकारसँग पानीको व्यवस्था गरिदिन पहल गर्दै आए पनि सरकारहरूले ७७ वर्षसम्म सुनेनन् ।

पानी नहुँदा हिउँदका ५ महिना बाख्रा, भेंडाहरूले चरिचरण क्षेत्रमा पोषिलो हरिया घाँस खान पाएका थिएनन् । मकै, जै घाँस रोपिए पनि पानी नहुँदा उम्रिने सम्भावना रहेन । बाख्रा, भेंडाहरूलाई पोषिलो कुरा खुवाउनु पर्नेहुन्छ । तर, फार्मले यतिका वर्ष खानेपानी खोल्साबाट तानेर ल्याउ“थ्यो । सिचाईं गर्न सकिएको थिएन । फार्म प्रबन्धक डा. बब्लु ठाकुरले भन्नुभयो– ‘फार्म ७८ वर्षसम्म पानीबिना ‘चरिचरन क्षेत्र’ का रूपमा चलेको थियो ।’

समुद्री सतहबाट करिब साढे १७ सय मिटर उचाईंमा रहेको फार्मले हाल २ सय ३८ मिटर गहिरो ‘बोरिङ’ गरेर पानी निकाल्न सफल भएको प्रबन्धक ठाकुरले बताउनुभयो ।

तस्बिर : बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्