खप्तड प्रकृतिको अनुपम उपहार : मन्त्री आले



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ । खप्तड पर्यटन विकास समितिद्वारा आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया’ कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्नुहुँदै उहाँले सो बताउनुभएको हो ।

‘हामी स्विजरल्यान्ड, सिंगापुर घुम्न गइरहेका छौं तर त्यो नेचुरल होइन, कृत्रिम हो’, मन्त्री आले भन्नुहुन्छ– ‘हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता पा्रकृतिक ठाउँको विकास गरौं, पर्यटकहरु आउने वातावरण बनाऔं ।’ खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्याएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी उहाँले दिनुभयो । ‘आगामी वर्षको बजेटका लागि खप्तडको मास्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिन्छ ।’ –आलेको भनाइ छ ।

खप्तडको समग्र विकासका लागि विगतमा पनि राष्ट्रिय योजना आयोगका सुशील भट्टलाई आग्रह गरी सिलगढीदेखि झिग्रानासम्म पर्यटकको सहजताका लागि सडक निर्माणका लागि ३६ करोड रुपियाँ बजेट विनियोजन गराएको उहाँ बताउनुहुन्छ । खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारहरुको विकास, संरक्षणका लागि आफू लागिपरेको मन्त्री आलेको भनाइ छ ।

यसै गरी, सो कार्यक्रमका सभापति तथा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूहरु सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको थियो । ‘खप्तडको मात्रै विकास गर्न सके सुदूरपश्चिम विकासका दृष्टिले कायापलट हुनेछ ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्