बस नचलाउने मधेस प्रदेश सरकारको निर्णय

मन्त्री फेरिएपछि योजना नै प्रभावित



जनकपुरधाम  ।

सर्वसाधारणको सहजताका लागि सार्वजनिक यातायात सञ्चालन गर्न मधेस प्रदेश सरकारले खरिद गरेको पाँचवटा बस सञ्चालन नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशवासीका लागि खरिद गरिएको बस विभिन्न संघ संस्थाहरूलाई चलाउनका लागि दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।  बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १-१ वटा बस दिने निर्णय गरेको छ ।

मधेस सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन स्थापना सोचका साथ २०७७ सालको धनतेरसका दिन भ्याट सहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस खरिद गरेका थिए । तर मन्त्री फेरिएपछि योजना नै प्रभावित भएको हो ।  प्रदेश सरकारका प्रवक्ता मन्त्री साहले बस सञ्चालन गर्दा खर्च निकै हुने, कर्मचारीहरूको व्यवस्था गर्नुपर्ने लगायत धेरै पूर्वाधारको विकास आवश्यक पर्ने भएकोले बसहरूलाई विभिन्न संघ संस्थाहरूलाई दिने निर्णय गरेको बताए ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने, युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्