किसानलाई आलुको बिउ वितरण



रसुवा ।

रसुवाको उतरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ वितरण शुरू गरिएको छ । उतरगया गाउँपालिकाले ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करूम्राङ, शुरूचेतका किसानलाई आलुको बिउ वितरण शुरू गरेको हो । वडा नम्बर १ तिरूमा एक कार्यक्रम गरी पालिका प्रमुख उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ वितरण गर्नुभएको हो ।

प्रति किसान २५ किलोको दरले आलुको बिउ वितरण गरिएको बताइएको छ । वडा नम्बर १ कै करूमर्याङ, सिरूचेत, काम्लुङका किसानलाई पनि आलुको बिउ वितरण गर्ने तयारी गरिएको बताइएको छ । सबै किसानलाई आलुको बिउ वितरण गरिने बताइएको छ ।

त्यस्तै, उत्तरगया गाउँपालिका– १, ४ र ५ लाई आलु जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिकासहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रमा व्यावसायिक रूपमा आलु खेतीका लागि कृषकलाई आलुको बिउ लगायतमा अनुदान दिएको छ ।

आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानलाई आलुको बिउ उपलब्ध गराउन शुरू गरेको हो । चालु आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको कार्यक्रममार्फत वितरण गरिएको आलुको बिउबाट वडा नम्बर १ का ४ सय २० घरधुरी लाभान्वित हुनेसमेत बताइएको छ ।

लेकमा फल्ने उन्नत जातका आलुको बिउ वितरणले भूकम्प पीडित विस्थापित कृषकलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रममार्फत अनुदानमा आलुको बिउ वितरण गरेको पालिका प्रमुख उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

वितरण गरिएको आलु उत्पादनबाट बढी लाभसँगै कृषकको आम्दानीस्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आलुको बिउ वितरण गरेको भन्दै कृषकहरू खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्न स्थानीयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्